आलमलाई धरौटीमा छाड्‍न मिल्दैन : उच्च अदालत जनकपुर

माघ २४, काठमाडौँ । ज्यान मार्ने उद्योगमा थुनामा रहेका पूर्व मन्त्री मोहम्मद अफताब आलमलाई साधारण तारेखमा छाड्‍न उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले अस्वीकार गरेको छ । शुक्रबार उच्च अदालत जनकपुरको वीरगन्ज अस्थायी इजलासले विस्फोटक पदार्थ बम प्रयोग गरी कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगमा आलमलाई पुर्पक्षका लागि थुनामा राख्‍न दिएको रौतहट जिल्लाको फैसला सदर गरेको हो ।

उच्च अदालतका श्रेस्तेदार ठाकुर खरेलका अनुसार न्यायाधीश सत्यमोहन जोशी थारु र डिल्लीराज आचार्यको संयुक्त इजलासले ‘सुरु रौतहट जिल्ला अदालतले निजलाई पुर्पक्षका लागि थुनामा राख्दा लिइएका आधार र कारणहरुसमेत मनासिब देखिएकाले आलमलाई थुनामै राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन आदेश दिएको हो ।

पुर्पक्षका लागि थुनामा रहेको हालको अवस्थालाई निरन्तरता दिनु आवश्यक एवं उपयुक्त देखिएको भन्दै उच्च अदालत जनकपुरले जिल्ला अदालतबाट २०७६ कात्तिक २९ मा भएको आदेशलाई बेरितको भन्न नमिल्ने बताएको छ । जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि हाल कारागार कार्यालय ललितपुरमा थुनामा रहेका प्रतिवादी मोहम्मद अफताब आलमले उक्त आदेश बेरितको भएकोले तारेखमा रही मुद्दा पुर्पक्ष गर्न पाउँ भनी उच्च अदालतमा निवेदन दिएका थिए। साभार ः कान्तिपुर दैनिकवाट

प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार १६:४६