ललिता निवास जग्गा प्रकरणः फरक–फरक धारणा सार्वजनिक

माघ २५, काठमाडौँ । ललिता निवासको जग्गा प्रकरणमा नाम जोडिएकामध्ये केही राजनीतिज्ञलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ भने केहीलाई उन्मुक्ति दिएको छ । उन्मुक्ति पाएका र आरोपित नेताहरुको फरक–फरक धारणा सार्वजनिक भएको छ । यही माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री र पूर्वसचिवसहित १७५ जना विरुद्ध ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । मुद्दा दायर गरेसँगै आयोगको निर्णयमा प्रश्नहरु उठिरहेका छन् ।

मन्त्रिपरिषद्ले गरेका निर्णयमा संलग्न तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईलाई उन्मुक्ति दिइएको छ भने त्यही निर्णयमा संलग्न पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशीसहितका प्रशासकहरुलाईसमेत मुद्दा लगाइएको छ ।

मुद्दा लागेकाहरुलाई पीडा होला । उन्मुक्ति पाएकाहरुले भने आफू भ्रष्टाचारमा संलग्न नभएको भाषण गर्न थालेका छन् । ललिता निवास जग्गा प्रकरणमा नाम जोडिएर पनि आयोगबाट उन्मुक्ति पाएका पूर्वप्रधानमन्त्री नेपालले आफूले भ्रष्टाचार नगरेको बताइरहेका छन् । उता, अभियोगबाट जोगिएका अर्का पूर्वप्रधानमन्त्री डा। भट्टराई पनि यो प्रकरणमा आफ्नो मतहरु राखिरहेका छन् ।
हो, दोषी नउम्किउन्, निर्दोष नफसुन् भन्ने डा। भट्टराईको मत स्वागतयोग्य छ । तर, भट्टराईले निर्णय प्रक्रियामा संलग्न भएको आधारमा दोषमुक्त छु भन्न सुहाउँदैन । न त नेकपा नेता नेपालले नै चोखो छु भनेर सुख पाउनेछन् । जनताले दुवैमाथि औंला ठड्याइरहेका छन् ।

यसरी औंला ठडिनुमा सादगी जीवन बिताइरहेका सोझा पूर्वभूमिसुधारमन्त्री चन्द्रदेव जोशीजस्तालाई फसाउनु र नेपाल अनि भट्टराईलाई जोगाउनु प्रमुख कारण हो । हो, एउटै निर्णयमा संलग्न रहेर पनि ठूला–ठूला महलमा बस्नेहरु चोखिने अनि सादगी जीवन बिताउँदै आएका एकजना नेता भ्रष्टाचारीको अभियोग खेप्ने कार्यलाई न्यायोचित मान्न सकिन्न । कानुन सबैका हकमा समान हुनुपर्दछ ।

प्रकाशित मिति २५ माघ २०७६, शनिबार ०७:१२