म्याग्दीको पूर्णगाउँमा होमस्टे सञ्चालनको तयारी

माघ २५, म्याग्दी । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै म्याग्दीको मंगला गाउँपालिका–१, पूर्णगाउँमा होमस्टे ९घरबास० सञ्चालनको तयारी थालिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि गर्न, स्थानीय उत्पादनको प्रचारप्रसार तथा विक्री वितरण र स्थानीयको आयआर्जन बढाउने उद्देश्यले होमस्टे कार्यक्रमलाई अगाडि बढाइएको गाउँपालिकाले बताएको छ ।

होमस्टे सञ्चालनका लागि पूर्णगाउँका स्थानीयवासीलाई २ दिने होमस्टे व्यवस्थापन सम्बन्धी तालीम दिइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु घरेलु तथा साना उद्योग विकास कोष काठमाडौंको आर्थिक सहयोग र नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा, म्याग्दीको आयोजनामा उक्त तालीम सञ्चालन गरिएको थियो । तालीममा प्रशिक्षक घनश्याम गिरीले होमस्टे व्यवस्थापन, अग्र्यानिक खाना र अतिथि स्वागत तथा सत्कारको विभिन्न विषयहरूमा सहजीकरण गरेका थिए ।

तालीमका सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले तालीममा सिकेका ज्ञान, शीपलाई व्यवहारमा पूर्णरूपमा उतार्न सहभागीलाई सुझाव दिएकी छिन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेशका अध्यक्ष हरिहर थापाले होमस्टे कार्यक्रममार्फत स्थानीयको आयआर्जन बढाउनुपर्ने भन्दै स्थानीय उत्पादनलाई जोड दिन आग्रह गरे ।

गाउँपालिकाभित्रका पर्यटकीय गन्तव्यमा आवश्यक पूर्वाधारहरू निर्माणमा जोड दिइएको गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले बताए । नागरिकले राज्यलाई कर तिर्न सक्ने वातावरण बनाउन गाउँपालिकामार्फत विभिन्न आयआर्जनका कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति २५ माघ २०७६, शनिबार ०७:१९