पर्वतमा सडक, विद्युत लगायत ठुला आयोजनाको प्रगति निराशाजनक

माघ २७, पर्वत । पर्वतमा निर्माणाधिन ठूला विकास निर्माणका आयोजनाको प्रगति सन्तोषजनक नरहेको पाईएको छ । २७ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २०७३ जेठ १७ मा निर्माण थालिएको कालीगण्डकी विद्युत् प्रसारण करिडोर आयोजनाको ९० प्रतिशत मात्र काम सकिएको छ । आयोजना सम्पन्न हुन अझै एक वर्ष लाग्ने जनाइएको छ । गत वर्ष नै सकिनुपर्ने कालीगण्डकी लोकमार्गको पर्वत खण्डको पुरा गर्ने र दुई मोटरेबल पुल निर्माणले पनि गति लिन नसकेकाले समयमै सम्पन्न हुने सम्भावना छैन ।

२०७४ भदौमा सम्झौता भई तीन वर्षमा सक्नुपर्ने मध्यपहाडी लोकमार्गको पर्वत खण्डको काम सकिन साढे सात महिना पनि बाँकी छैन तर काम भने ६० प्रतिशत मात्र सकिएको छ । यी तीन वटै राष्ट्रिय प्राथमिकतामा परेका आयोजना हु्न् । सुरुको वर्ष लक्ष्यअनुसार नै काम अघि बढाएको कालीगण्डकी प्रसारण आयोजनाले पछिल्ला दुई वर्ष सरकारी निकाय तथा स्थानीयको अवरोध झेलिरहेको छ । जसका कारण आयोजना तोकिएको मितिमा सकिने सम्भावना छैन  ।

कालीगण्डकी करिडोरको लमाएखोला देखि अर्मादी सम्मको खण्ड अझै पुरा भएको छैन भने मोदी खोला र लमाए खोलामा बनाउन लागिएका पुलको काम पनि समयमा नसकिने देखिएको छ । राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको काम पनि अपेक्षित रूपमा अघि बढेको छैन । हालसम्म करिब ६० प्रतिशत मात्रै सकिएको आयोजनाको पर्वत कार्यालयका प्रमुख आशिष थापा मगरले जानकारी दिनुभयो । तीनवर्षे अवधि आगामी भदौमा सकिँदै छ । अहिलेसम्मको प्रगति अनुपातले समयमै काम सकिनेमा आशंका छ ।

सरकारीमा मात्र होइन, तोकिएको समयमा काम सम्पन्न नहुने समस्या निजी क्षेत्रका आयोजनामा पनि छन् । मोदीखोलामा निर्माणाधीन २० मेगावाटको तल्लो मोदी र १५.१ मेगावाटको मध्यमोदी जलविद्युत् आयोजना सम्पन्न हुने समय गुज्रिँदा सम्म पनि उत्पादनको सुरसार छैन ।

प्रकाशित मिति २७ माघ २०७६, सोमबार ०३:४३