सात दशकदेखि बन्द फलामखानी पुन संचालनमा : स्थानीय हर्षित

माघ २८, पर्वत । पर्वतको महाशिला गाउँपालिका ६ मा रहेको धाउखानी जंगलको फलामखानी उत्खनन गर्ने प्रक्रिया शुरु भएको छ । झण्डै सात दशकदेखि बन्द रहेको उक्त फलामखानी खानी तथा भूगर्भ विभागले उत्खनन प्रक्रिया शुरु गरेको हो । विभागले फलामखानीको विस्तृत सर्वेक्षण थालेको जानकारी दिएको छ । विभागका वरिष्ठ भूगर्भबिद ठाकुर कँडेलले इआरटी (इलेक्ट्रिकल रेसिस्टीभिटी टेक्नोलोजी)को माध्यमबाट अध्ययन अनुसन्धानको काम भइरहेको जानकारी दिनुभयो । अहिले हेर्दा कुनै ठाउँमा सतहमा फलाम भेटिएको छ भने कुनै स्थानमा जमीनमुनि भएको पाइएको छ । दुईदेखि आठ मिटरसम्म खानी रहेको साधारण अध्ययनले देखाएको छ ।

विभागको मानदण्डअनुसारको प्रतिवेदन आएमा फलामखानी उत्खनन हुने कँडेलले जानकारी दिनुभयो । यस वर्ष विस्तृत सर्भे गर्ने र प्रतिवेदन सकारात्मक आएमा अर्को आर्थिक वर्षदेखि उत्खननको काम शुरु हुने उहाँले बताउनुभयो । नेपाल सरकारले बन्द रहेका फलामखानीको उत्खनन गर्ने चालु वर्षको नीति तथा कार्यक्रममा नै उद्घोष गरेको थियो । सरकारले नीति तथा कार्यक्रममा पर्वतको फलामखानी र नवलपरासीको धौवादीमा रहेको फलामखानी अध्ययन गर्ने भनेको थियो । २०१८ साल सम्म स्थानीय बासिन्दाले मौलिक शैलीबाट यहाँको फलाम उत्खनन गरेर बजार पठाउँथे । फलाम पगाल्न रुख काट्नुपर्ने र धेरै रुख काट्दा जंगल मासिएको भन्दै तत्कालीन सरकारले खानी बन्द गराएको स्थानीय ७८ वर्षिय परमदास सुनारले बताउनुभयो । उहाँका अनुसार खानीबाट निकालेको फलाम बिक्री गरेर करिव ४ सय परिवारको रोजीरोटी चलेको थियो ।

गाउँभरि फलामको खानी भएकैले उतिबेला यो गाउँको नामै फलामखानी राखिएको सुनारले बताउनुभयो । फलामखानीमा बसोबास गर्ने विक र दर्जी परिवारबाट कम्तीमा एक जना उतिबेला फलामको खानीमै बास बस्ने गर्दथे । स्थानीय अगुवा गोविन्दबहादुर विश्वकर्माका अनुसार तत्कालीन जिल्ला विकास समितिको पहलमा २०६० को दशकमा खानी उत्खनन गर्न विभिन्न प्रयासहरू गरेको भए पनि सम्भव भएको थिएन ।

प्रकाशित मिति २८ माघ २०७६, मंगलवार १४:४०