एमसीसी रोक्न ९ दलको सभामुखलाई ज्ञापनपत्र

माघ २८, काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) रोक्न माग गर्दै विभिन्न साना ९ राजनीतिक दलले सभामुखलाई ज्ञापनपत्र बुझाएका छन् । मंगलबार दिउँसो प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई ९ दलको तर्फबाट सीपी गजुरेलले ज्ञापनपत्र बुझाएका हुन् । ९ दलको विज्ञप्तिमा एमसीसी राष्ट्रघाती भएकाले त्यसलाई स्वीकार गर्नु नहुनेमा जोड दिइएको छ ।

नेकपा क्रान्तिकारी माओवादीको नेतृत्वको ९ दलीय गठबन्धनले सभामुखलाई ज्ञापनपत्र बुझाएको हो । सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाउँदै गठबन्धनले अमेरिकाले आफ्नो रणनीतिक उद्देश्य पूरा गर्न एमसीसी अनुमोदनका लागि दबाब दिएको दाबी गरेको छ ।

पूर्वसांसद गजुरेलसहितका नेता सभामुखलाई ज्ञापन पत्र बुझाउन पुगेका हुन् । सभामुख सापकोटाले ज्ञापनपत्र बुझेपछि एमसीसीबारे अझै गहिरिएर अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गरे। सभामुखले आफ्नो क्षेत्राधिकारअनुसार नै आवश्यक कदम चाल्ने पनि स्पष्ट पारे ।

सत्तारुढ दलभित्रै एससीसी प्रस्तावमाथि चर्को विवाद छन्। प्रधानमन्त्री केपी ओली सम्झौता अनुमोदन गर्न हतारिए पनि पार्टीभित्र यसका लागि अझै साझा सहमति बन्न सकिरहेको छैन।

प्रकाशित मिति २८ माघ २०७६, मंगलवार १५:१८