फलेवास नगरपालिका : महिलाहरूलाई व्यावसायिक रुपमा आत्मनिर्भर बनाउने अभियान शुरु

माघ २८, पर्वत । फलेवास नगरपालिका भित्रका महिलाहरूलाई व्यावसायिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले ११ वटै वडाका महिला समूह र नगरपालिका बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सभालाई सम्बोधन गदै नगरपालिकाका मेयर पदमपाणि शर्माले महिलाहरुलाई व्यावसायिक बनाउनको लागि नगरपालिकाले आवश्यकताको आधारमा बजेट बिनियोजन गरेको बताउनु भयो । उहाँले ब्यवसायिक कार्यक्रमको प्रस्ताव लिएर नगरपालिकामा आउन महिलाहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा फलेवास नगरपालिकाका स्रोत र सधन, विकास निर्माण,ब्यवसायिक हकहित र महिलाहरूको गुनासो तथा समस्याका लगायत बिषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा भौगोलिक विविधता अनुसार फलेवासमा गाइपालन,तर्कारी खेती,फलफूल खेती,सिलाइकटाइ उधोग ढाका उधोग टपरी उधोग,सेनेटरी प्याड उधोग,अल्लो उत्पादन लगायतका व्यावसायिक सम्भाब्यताका बारेमा छलफल भएको छ । छलफल कार्यक्रममा नगरपालिकाका योजना ब्यबस्थापक देबिप्रसाद तिमिल्सिनाले जुनसुकै उद्दम वा पेशा गरेर महिलाहरु व्यावसायिक बन्नैपर्नेमा जोड दिनुभयो । त्यस्तै उहाले न्युन आयस्रोत भएका बिपन्न परिवारको लागि सामाजिक सुरक्षा प्रदान गर्नेगरी छलफल चलेको जानकारी दिनुभयो ।

सोही अवसरमा फलेवासमा भैरहेको बिकासे योजनाहरु र वडा तहमा हाल देखिएका समस्याहरुको बारेमा समेत महिलाहरूले नगरपालिका समक्ष जिज्ञासा तथा सुझाव राखेका छन । अन्तर्कृया कार्यक्रमको सहजीकरण योजना ब्यबस्थापक देबि प्रसाद तिमिल्सिना, निमित्त प्रशासकिय अधिकृत कृष्ण प्रसाद पौडेल कृषि शाखाका टुकनारायण सापकोटाले गर्नुभएको थियो । महिला तथा बालबालिका शाखाकि प्रमुख बिष्णु चापागाइले कार्यक्रम संचालन गर्नुभएको कार्यक्रमको समापन महिला सदस्य निर्मला भुसालले गर्नुभएको थियो ।

प्रकाशित मिति २८ माघ २०७६, मंगलवार १६:०३