फलेवास नगरपालिका : सम्मानीत हुँदै विदा भए प्रमुख प्रशासकिय अधिकृत सापकोटा, न्यौपानेको आगमन

माघ २८, पर्वत । फलेवास नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत मोतीराम सापकोटा सम्मानित हुनुभएको छ । स्थापनाकाल देखी सेवारत सापकोटालाई नगरपालिकामा उकृष्ठ काम गरेको भन्दै जनप्रतिनिधीहरुले सम्मान गरेका हुन् । जिल्लामा जनप्रतिनिधीवाट सरकारी कर्मचारी सम्मानित हुने यो घटना पहिलो हो । सापकोटा सरुवा भएर जाने क्रममा फलेवास नगरपालिकाका मेयर, उपमेयर सहित जनप्रतिनिधीहरुको टोलीले सम्मान गरेको प्रवक्ता टिकाराम गौडेलले जानकारी दिनुभयो ।

स्थापनाकाल देखी नगरपालिकामा कार्यरत सापकोटालाई नगरको आर्थिक,सामाजिक,शैक्षिक उत्थान र उन्नयनका लागि महत्वपुर्ण परिकल्पना, अवधारणा, मार्गदर्शनका साथ काम गरेको भन्दै जनप्रतिनिधीहरुले सम्मान गरेको गौडेलले बताउनु भयो । सापकोटाले करिव साढे २ बर्ष फलेवास नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा काम गर्नुभयो । उहाँ अहिले अध्यागमन विभागमा सरुवा हुनुभएको छ ।

नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी पाएर आएसँगै अन्य स्थानीयतहहरु भन्दा फरक र नगरवासीहरुलाई समृद्धिको दिशातर्फ लैजानेगरी विभिन्न विकास योजनाका साथसाथै ऐन, नियम र कानूनहरु निर्माणमा उत्कृष्ठ काम गरेको भन्दै नगरपालिकाले जनाएको छ ।

यसैविच नगरपालिकामा अर्का प्रमुख प्रशासकिय अधिकृतको आगमन भएको छ । नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा सुरेश न्यौपाने आउनुभएको हो । उहाँ कृषि विकास मन्त्रालयवाट फलेवास नगरपालिकामा सरुवा भएर आउनु भएको हो । उहाँलाई नगरपालिकाले एक कार्यक्रमको आयोजना गरेर स्वागत गरेको छ ।

स्वागत कार्यक्रममा बोल्दै नवआगन्तुक प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले जनप्रतिनिधि र कर्मचारीहरुले गरेको न्यानो स्वागतले आफुलाई उत्साह थपेको बताउनु भयो । उहाँले समग्र नगरको विकासका लागि आफ्ना अनुभवहरुलाई पुर्ण रुपमा व्यवाहारमा उतार्ने प्रतिवद्धता व्यक्त गर्दै जनप्रतिनिधिहरुसँग समन्वय र सहकार्य गरेर काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रकाशित मिति २८ माघ २०७६, मंगलवार १६:५९