‘सरकारले आफ्ना व्यक्तिले गरेको भ्रष्टाचार ढाकछोप गर्न खोज्यो’

माघ १, पर्वत । नेपाली काँग्रेसको स्थानीय तह समायोजन घोषणा सभा बुधवार महाशिला गाउँपालिकामा सम्पन्न भएको छ । संघियता पछि पार्टीको संगठनलाई स्थानीयकरण गर्दै आएको काँग्रेसले पर्वतका विभिन्न स्थानीय तहरुमा समायोजन घोषणा गर्ने क्रममा बुधवार महाशिलामा समायोजन घोषणा गरेको हो । स्थानीय तह समायोजनका लागि तोकिनुभएका केन्द्रिय प्रतिनिधी हरिनारायण रेग्मीले गाउँपालिकाको सभापती सहित गाउँपालिकाका सबै ६ वटा वडाका सभापतीहरुको नामावली सुनाएर उहाँहरुलाई टिका र खादा लगाएर जिम्मेवारी सुम्पिनुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले वर्तमान सरकारले लोकतन्त्र मास्ने किसीमले विभिन्न बिद्येयक ल्याइरहेको भन्दै सरकार अधिनायकबादको दिशातर्फ उन्मुख भएको आरोप लगाउनुभयो । सूचना प्रविधि बिद्येयक, मिडिया काउन्सील विद्येयक लगायतका विद्येयकहरु लोकतन्त्र मास्ने किसिमले आएको बताउँदै जोशीले सरकार जनताका अधिकार खोस्न मात्रै अघि बढेको ठोकुवा गर्नुभयो । सरकार भष्ट्रचारीलाई जोगाउन लागिपरेको पनि उहाँले बताउनुभयो । केहि दिन पहिले अख्तियारको निर्णय भन्दै काँग्रेस उपसभापती विजयकुमार गच्छेदार लगायत विभिन्न व्याक्तिलाई मुद्धा चलाएको सरकारले ललिता निवास जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल , डा. वाबुराम भट्राई , जग्गा हडप्ने विष्णु पौडेल जस्ता नेतालाई जोगाएको भन्दै आलोचना गर्नुभयो । कानुन अनुसार भष्ट्रचारका काण्डमा मुछिएका सबैलाई कारवाहिको दायरामा ल्याउनुपर्नेमा सरकार आफ्ना मान्छे जोगाउने षडयन्त्रमा लागेको जोशीले आरोप लगाउनुभयो । उहाँले अख्तियारलाई आफ्नो छायाँमा परेर सरकारले विधि र विधानको खिल्ली उडाएको दाबी गर्नुभयो । केन्द्रिय सदस्य जोशीले वडावडामा पुगेर सरकारले गरेका गलत कामहरुको भण्डाफोर गर्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

नेपाली काँग्रेस पर्वतका पार्टी सभापती खिमप्रसाद भुसालले पार्टीलाई मजवुत बनाउन नेता कार्यकर्ताहरुमा भवनात्मक एकता आवश्यक रहेको बताउनुभयो । पूर्व सभापति नवराज गुरुङले पर्वतमा नेपाली काँग्रेसको संगठन बलियो भएमा कुनै पनि शक्तिले पराजित गर्न नसक्ने भएकाले सबैलाई एक जुट हुन अनुरोध गर्नुभयो । उक्त सभामा प्रदेशसभा सदस्य ललितकला गुरुङ, प्रदेशसभा ख का उम्मेदवार राजेन्द्रप्रसाद तिवारी, पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, महासमिति सदस्य बसन्तबहादुर सिके र गंगाधर तिवारी, महाधिबेशन प्रतिनिधी मोहन गुरुङ, जिल्ला कार्यसमितिका सचिव अशोक उचै ठकुरी, जिल्ला सदस्यहरु आनन्दप्रसाद भुसाल, शिवप्रसाद सुबेदी, पैयुँका सभापति डम्वर प्रधान, दलित संघका विक्रम लोहनी, प्रेम विक , जिविसका पूर्व उपसभापती राम शर्मा पौडेल, पत्रकार महासंघका अध्यक्ष छविलाल तिवारी, शिक्षक संघका नेताहरु भिमवहादुर क्षेत्री, मेघराज शर्मा , पर्वत काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष ओम शर्मा चापागाई , नेपाली काँग्रेसका पूर्व क्षेत्रीय सचिव धर्मराज शर्मा, नेविसंघका पूर्व केन्द्रिय सदस्य मोहन आचार्य , तरुण दल पर्वतका सदस्य सन्तोष हमाल, नेविसंघ महाशिलाका अध्यक्ष विशन नेपाली लगायतले बोल्नुभएको थियो ।

नेपाली काँग्रेस महाशिलाका सभापती धनप्रसाद गुरुङको सभापतीत्वमा भएको कार्यक्रममा स्वागत महाशिला गाउँपालिकाका उपाध्यक्ष पदका प्रत्यासी सृजना मल्ल र सञ्चालन नेपाली काँग्रेस महाशिलाका सचिव सूर्यवहादुर गुरुङले गर्नुभएको थियो भने धन्यवाद मन्तव्य महाशिला ५ का सभापती डिल्लीराम उपाध्यायले व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति २९ माघ २०७६, बुधबार १८:५१