आज महाशिवरात्री–पर्वतका यि स्थानहरुमा विशेष मेला

फागुन ९, पर्वत । आज महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी मनाइँदैछ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभएको छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरेर शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्व्सिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

हिन्दुहरुको महान पर्व महाशिवरात्रीको अवसरमा पर्वतका शिवालयहरुमा विहानैदेखि भक्तजनहरुको घुँईचो लागेको छ ।
यता पर्वतका प्रसिद्ध पर्यटकीय तथा धार्मिकस्थल गुप्तेश्वर गुफा, अलपेश्वर गुफामा विशेष मेला लागेको छ । भने अन्य शिवालयहरुमा बिहानैदेखि भक्तजनहरुकमो घँुईचो लागेको हो । गुप्तेश्वर र अलपेश्वर गुफाको दर्शन र गुफा भित्र रहेको शिबलिंगको पुजा गर्न बिहानै देखि भक्तजनको भीड लागेको हो ।
गुफामा दर्शन र पुजा गर्नका लागि पर्वतका गाउँगाउँबाट सर्वसाधरण आएका छन भने छिमेकी बागलुङ्ग, कास्की र म्याग्दीबाट समेत ठुलो संख्यामा भक्तजनहरु आएका छन । गुफामा दर्शन गर्ने र भजनमा नाचगान गर्नेहरु पनि प्रशस्त छन । गुप्तेश्वर गुफामा पार्वतीले महादेबलाई पतिको रुपमा पाउँ भनि ब्रत बसेको र भगवान शिब गुप्त रहेको धार्मिक बिश्वास रहि आएको छ । पार्वती पर्वतकै पाङ्गमा जन्मेकी र गुफामा ब्रत बस्ने तथा कालीगण्डकीमा स्नान गर्ने गरेको भनाई पाइन्छ । एक किलोमिटर लामो गुफामा देबदेबताको दर्जनौ आकृर्तिहरु रहेका छन ।
यसैगरी कुस्मा नगरपालिकाकै वडा नं। ९ कटुवाचौपारीमा रहेको अलपेश्वर गुफामा पनि दर्शनार्थीको भीड लागेको छ ।
पर्वत, कास्की र स्याङ्गजाको सिमानामा पर्ने पञ्चासे, डहरे, सेतीबेणीमा रहेको विश्वकै ठुलो शालिग्राम शिला लगायतका शिबालय मन्दिरहरुमा भक्तजनको बिहानै देखि मेला लागेको छ । पछिल्लो समय भेटिएका पाङको पार्वती गुफा, देउपुरको शिवालय गुफा र चुवाको लालेश्वर गुफा, ठुलीपोखरीको बाटुलौर मन्दिर, पाङराङको शिवालय मन्दिर, खनियाघाटको शुक्लेश्वर मन्दिरमा पनि मेला लागेको स्थानियले जानकारी दिएका छन् ।

पर्वतको गुप्तेश्वर गुफामा विहानै देखि भक्तजनहरुको विशेष भीड लागेको छ ।

प्रकाशित मिति ९ फाल्गुन २०७६, शुक्रबार ०२:३०