प्रमुख प्रतिपक्षी कांग्रेसको माग : ‘राजीनामा दिएर पुग्दैन, छानबिन हुनुपर्छ, प्रधानमन्त्रीले जवाफ दिनुपर्छ’

फागुन ९, काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेसले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले गरेको मोलमोलाइको अडियो प्रकरणबारे स्पष्ट पार्न सरकार र प्रधानमन्त्रीसँग माग गरेको छ । बिहीबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गर्दै कमिसन मोलमोलाइ बाँस्कोटाको व्यक्तिगत प्रयास हो या सरकारको संस्थागत भन्ने प्रस्ट पार्न माग गरेका हुन् ।

‘सञ्चारमन्त्रीले राजीनामा दिएर मात्रै पुग्दैन । दृश्यमा आएकाबाहेक नेपथ्यमा अरू के–के भएका थिए राजनीतिक आग्रह, पूर्वाग्रह नराखी छानबिन गरिनुपर्छ,’ शर्माले भने, ‘घटनाको अनुसन्धान गर्ने निकायलाई प्रधानमन्त्रीले सहयोग गर्नुपर्छ । अनियमितताका लागि भएको संवाद व्यक्तिगत हो कि संस्थागत प्रस्ट पार्नुपर्छ ।’

मन्त्रीले राजीनामा दिएर मात्रै यो विषयले किनारा नपाउने भन्दै कांग्रेसले प्रधानमन्त्री जवाफदेही हुनुपर्ने जनाएको छ । ‘प्रधानमन्त्रीले भ्रष्टाचारीको मुख हेर्दिनँ भन्दै आउनुभएको छ । अब आफ्नै मन्त्रीको अडियो आएपछि हेर्दिनँ मात्रै भनेको हो, सुन्दिनँ भन्न मिल्दैन,’ प्रवक्ता शर्माले भने, ‘अनुहार नहेर्नुस्, तर आवाज सुन्नुहोस् । पृष्ठभूमिमा के भएको हो सत्यतथ्य बाहिर ल्याउनुस् ।’

यसै प्रकरणमा कांग्रेसले बिहीबार संसद् पनि अवरुद्ध गर्‍यो । प्रतिनिधिसभा र राष्ट्रिय सभाका दुबै बैठक अवरुद्ध गरेको हो । संसद्मा पनि कांग्रेसले राजीनामा मात्रै नभई कानुनी दायरामा ल्याउन माग गरेको छ । बालुवाटार जग्गा प्रकरणमा नेकपा महासचिव विष्णु पौडेलले जग्गा फिर्ता गरेकाले कारबाही नभएजस्तै सञ्चारमन्त्रीले राजीनामा दिएपछि कारबाही नगर्ने छुट नभएको कांग्रेसको जिकिर छ । साभार–नयाँ पत्रिका

प्रकाशित मिति ९ फाल्गुन २०७६, शुक्रबार ०३:४१