वीरगञ्ज : महागढीमाईका मेयर र मुकेश समूहबीच झडप

फागुन ९, काठमाडौँ । बाराको महागढीमाई नगरपालिका–२ बरियारपुरमा नाला निर्माणको विषयमा दुई पक्षबिच झडप भएको छ । नगर प्रमुख उपेन्द्र यादव र समाजवादी युवा संघका उपाध्यक्ष मुकेश कुशवाह पक्षबीच भएको झडप भएको हो । मुकेशले सामाजिक सञ्जालबाट आफूविरुद्ध गाली गलौज गरेको मेयरको दाबी छ भने कुशवाहले नाला निर्माणबारे आवाज उठाउँदा मेयर यादवले आफ्ना वुबा महेन्द्र राउत अहिरलाई शौचालयमा थुन्नुका साथै कुटपीट गर्दै दुर्व्यवहार गरेको उनले दाबी गरेका छन् ।

एकअर्काविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दर्ता गराएको दुबै पक्षबीच बिहीबार झडप नै भएको छ । महागढीमाई नगरपालिका वडा नं २ को वडा कार्यालय र सशस्त्र प्रहरी क्याम्प भएको बजार टोलमा बिहीबार बेलुका झडप भएको हो ।

झडपमा मुकेश कुशवाहसहित ४ जना घाइते भएका छन् । तरुण दलका स्थानीय नेता साजन गुप्ता, महागढीमाई नगरपालिकाका कार्यालय सहयोगी धिरेन्द्र सिंह लहेरा र ट्याक्टर चालक साहेब यादव घाइते भएका हुन् । घाइते मध्ये तीन जनाको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ भने छाती र टाउकोमा चोट लागेकाले मुकेशलाई काठमाडौं लगिएको छ । बजारमा बसिरहेको समयमा मेयरका मानिसहरु आएर आफूलाई समातेर गाडीमा हाल्न खोजेको मुकेशको दाबी छ ।

प्रत्यक्षदर्शी सियाराम कुशवाहले पनि मेयरका मानिसहरुले आक्रमण गरेपछि मुकेशका समर्थकले प्रतिकार गरेको बताए ।

प्रकाशित मिति ९ फाल्गुन २०७६, शुक्रबार ०८:१३