नेकपाको कार्यदलले तयार पारेको एमसीसी प्रतिवेदन आजै बुझाउने

फागुन ९, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एसीसी)को अध्ययन गर्न गठित कार्यदलले प्रतिवेदन बुझाउने भएको छ । कार्यदलले आफ्नो प्रतिवेदन नेकपाका अध्यक्षद्वयसमक्ष बुझाउने भएको हो । कार्यदलका सदस्य भीमबहादुर रावलका अनुसार नेकपाको सिंहदरबारमा बसेको बैठकले प्रतिवेदन शुक्रबार बुझाउने निर्णय गरेको हो ।
कार्यदलको तर्फबाट एमसीसीको अनुदान सहायताको सम्बन्धमा जुन उद्देश्यका साथ हामी काम गरेका थियौँ, त्यसलाई सम्पन्न गरेका छौं रावलले भने, ‘हामीले सरकार र एमसीसीबीच भएको सम्झौताअनुसार हिन्द प्रशान्त रणनीतिका सम्बन्धमा आवश्यक सन्दर्भ सामग्री तथ्यको विस्तृत रुपमा अध्ययन, विश्लेषण गरी प्रतिवेदनको मस्यौदा तयार गरेका छौँ। यो प्रतिवेदनलाई हामी आज बुझाउँछौँ।’

उनले प्रतिवेदन पार्टीलाई बुझाएपछि एमसीसीका सम्बन्धमा के निर्णय गर्नुपर्छ भन्ने कुरा पार्टी नेतृत्वले छलफल गर्ने जानकारी दिए । उनले पार्टीको सम्बन्धित निकायमा छलफल गरिएपछि आवश्यक निर्णय केन्द्रीय कमिटी बैठकले गरेअनुसार हुने बताए ।
पार्टीको गत माघ १५ देखि १९ गते सञ्चालन भएको केन्द्रीय कमिटी बैठकले एमसीसी सम्झौताबारे अध्ययन गर्न वरिष्ठ नेता खनालको संयोजकत्वमा स्थायी कमिटीका सदस्य रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रहेको कार्यदल गठन गरेको थियो ।

दश दिनको समयसीमा तोकेर प्रतिवेदन बुझाउने निर्णय गरे पनि कार्यदलले उक्त समयसीमामा प्रतिवेदन बुझाउन नसकिने जनाएपछि थप दश दिन म्याद थप गरेको थियो । साभार–अन्नपूर्ण पोष्टवाट

प्रकाशित मिति ९ फाल्गुन २०७६, शुक्रबार ११:२३