नेकपा वडा कमिटि देविस्थानद्धारा अग्रजहरुलाई सम्मान

फागुन १०, पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फलेवास नगरपालिका –६ देविस्थानले पार्टीमा लामो समयदेखि योगदान गर्ने १ सय १४ जनालाई सम्मान गरेको छ ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री तथा नेकपा प्रदेश कमिटिका सदस्य विकास लम्साले फलेवास हिजोदेखिकै शैक्षिक “हब” का रुपमा चिनिदै आएकोले हिजोको विरासतलाई जोगाउँदै त्यसलाई थप परिस्कृत बनाउँदै अगाडि बढ्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने पार्टिको योजनालाई सार्थकता प्रदान गर्ने लक्ष्यका साथ फलेवास नगरपालिकाले काम गरिरहेको बताउनुभएको थियो । सम्बोधनकै क्रममा मेयर शर्माले भन्नुभयो( “फलेवास नगरपालिकाले एकीकृत योजना बनाएर दीर्घकालीन विकासका लागि अगाडि बढेकोले परिणाम देखिन केही ढीला भएपनि आउने परिणाम सकरात्मक नै हुन्छ ढुक्क हुनुहोस् ।”
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै फलेवास नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारीले नगरपालिका भित्र संचालनमा रहेका विकास निर्माणका कामलाई गुणस्तरीय तवरबाट समयमै सम्पन्न गर्नका लागि नगरपालिका लागि परेको बताउनुभएको थियो ।

कार्यक्रमलाई नेकपा फलेवास नगर कमिटिका अध्यक्ष पिताम्बर घिमिरे, जिल्ला कमिटिका सदस्य उपेन्द्र बहादुर थापा, फलेवास नगरपालिका वार्ड नं. ६ का वडा अध्यक्ष भोलानाथ शर्मा र कार्यक्रम संयोजक विक्रम कुँवर लगायतले सम्बोधन गर्नुभएको थियो । सोही कार्यक्रममा राष्ट्रिय जनमोर्चा परित्याग गरि यामप्रसाद भुसाल, सुरज भुसाल, टिकाराम भुसाल, नन्दलाल भुसाल, टुकप्रसाद भुसाल सहितका एक दर्जनभन्दा बढि नेता कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका थिए ।

नेकपा फलेवास नगरपालिका ६ नं. वडा कमिटिका अध्यक्ष नारायणप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव उत्तमराज घिमिरेले र स्वागत मन्तव्य रमा पोख्रेलले राख्नुभएको थियो ।

प्रकाशित मिति १० फाल्गुन २०७६, शनिबार १७:२८