प्रधानमन्त्रीको आज जन्मदिन : गाउँपालिकामा सार्वजनिक बिदा

फागुन ११, काठमाडौँ । प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९औँ जन्मदिन मनाउन जन्मघर आठराई जाँदै हुनुहुन्छ । ओलीको जन्मदिनको अवसरमा तेह्रथुमको आठराई गाउँपालिकामा आइतबार स्थानीय सार्वजनिक बिदा दिइएको छ ।

प्रधानमन्त्री ओली विभिन्न विकास निर्माणका कामको शिलान्यास गर्न गाउँपालिका जाने भएकाले स्थानीय बिदा दिने निर्णय गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।
यसै अवसरमा उहाँले छातेढुङ्गाको सुकेपोखरी, आफ्नो जन्मघर हुँदै ताप्लेजुङ्गको ढुङ्गेसाँघुमा रहेको मदन भण्डारीको जन्मघरसम्म जोड्ने मोटरबाटोको शिलान्यास गर्ने कार्यक्रम छ । यस्तै जन्मघरमा हुने कार्यक्रममा उहाँले नेपाल बैंकको शाखा कार्यालय उद्घाटन गर्नुहुनेछ ।

प्रधानमन्त्रीको स्वागतका लागि गाउँपालिकाले शिक्षकहरुलाई तोकिएको पोसाकमा उपस्थित हुन निर्देशन दिएको छ । प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा दुई हजार विद्यार्थीलाई प्रमको तस्बिर र हस्ताक्षरसहितको डायरी र कलम तथा दुई सय वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति ११ फाल्गुन २०७६, आईतवार ०४:२६