संविधान संशोधनबारे काँग्रेसको टिप्पणी : कम्युनिस्ट पार्टीले एक पछि अर्को तमासा देखाएको छ

फागुन ११, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधनका लागि पार्टीगत कार्यदल गठन गरेकोप्रति आपत्ति जनाएको छ । शनिबार बसेको नेकपाको सचिवालय सदस्य माधवकुमार नेपालको संयोजकत्वमा तीन सदस्सीय कार्यदलको बैठकले संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्री बन्ने बाटो खोलेको हो ।

यस्तै नेकपाले हाल कायम रहेको ५९ सदस्यीय राष्ट्रियसभा सदस्य संख्या बढाउन पनि संविधान संशोधन गर्न तयारी थालेकोलाई प्रतिपक्षी दल काँग्रेसले कम्युनिस्ट सरकारको अर्को तमासाको रुपमा टिप्पणी गरेको छ ।

काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधान संशोधनको माग गर्ने नागरिको चाहना भन्दा अमुक नेतालाई विशेष ठानेर नेकपाले यो एजेण्डा अगाडि सारेको प्रतिक्रिया दिए ।
‘संविधान संशोधनका लागि मधेशी, जनजाति, महिला, थारुललगायले माग गर्दै गर्दा राज्यको नेत्र नखुल्ने ? सधैँ हुन्न भनियो,’ शर्माले भने, ‘यी सबैभन्दा त ठूलो एउटा अमुक नेता रहेछन् नि । सबैको अपनत्व गाँस्ने गरी संविधान संशोधन गर्नु नपर्ने ? अनि कसैका लागि प्रधानमन्त्रीको ढोका खोल्नेगरी संविधान संशोधन गर्ने ? यो एउटा रमिता वा तमसा भन्दा अर्को केही होइन ।’
संविधान संशोधन जस्तो गम्भीर विषयमा प्रवेश गर्दा पहिले राष्ट्रिय विमर्श जरुरी रहेको उनले बताए । यस्तै, काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले पनि संविधान संशोधनको विषय सदनको विषय भएको बताएकी छन् । उनले भनिन्, ‘पार्टी विशेषले कार्यदल बनाएको छ । संविधान संशोधनको विषय सदनको विषय हो ।’
संविधान संशोधनको विषयमा आज सामान्य जानकारी मात्र आएको भन्दै यो विषयमा पार्टी र संसदीय दल गम्भीर छलफल चलाउने बताइन् ।

प्रकाशित मिति ११ फाल्गुन २०७६, आईतवार १८:०७