पर्वतमा जनता आवासका घरहरु धमाधम निर्माण हुँदै

फागुन १२, पर्वत । बजेट अभावले लामो समयदेखि अलपत्र अवस्थामा रहेको जनता आवास कार्यक्रम अन्तर्गतका घर धमाधम निर्माण हुन थालिएका छन् । जिल्लाका फलेबास, कुश्मा, बिहादी, जलजला र महाशिलामा गरी ११९ घर निर्माणाधीन छन । विपन्न परिवारका घर बनाउने कार्यले यस वर्ष गति लिएको हो ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत घर निर्माण भइरहेको पोखरास्थित डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका निमित्त प्रमुख अनुप थापाका अनुसार चालु वर्ष पर्वतमा डेढ सय घर निर्माण गर्ने लक्ष्य छ । ‘हालसम्म ५० को हाराहारी घर बनेका छन ।

चार वर्षअघि कार्यक्रम सुरु भएको थियो । सुरुको वर्ष सय घर निर्माण थालिएको थियो । २०७२ मा तत्कालीन सरकारले ल्याएको ‘जनता आवास’ कार्यक्रम मार्फत साविकका १० गाविसका सय घर निर्माण सुरु भएर लामो समय रोकिएको थियो । पटक–पटक सरकार बदलिँदा तत्कालीन संघ सरकारको सहरी विकास मन्त्रालयले बजेट रोकेपछि आवास अधुरै थिए । चालु वर्ष उक्त कार्यक्रम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा हस्तान्तरण भएपछि कामले गति लिएको हो । सहरी विकास तथा भवन डिभिजन कार्यालय कास्कीले पर्वतसहित कास्की र स्याङ्जामा समेत रोकिएका कामलाई तीव्रता दिएको हो ।

कार्यक्रमअन्तर्गत फलेबास नगरपालिकामा ४१, कुश्मा नगरपालिकामा ३७, बिहादी गाउँपालिकामा २१, महाशिला गाउँपालिकामा ९ र जलजला गाउँपालिकामा ११ घर निर्माणको अन्तिम चरणमा छन् । ४४ परिवारले घर निर्माण सकेका छन् । एक सय ११ घरपरिवारले दोस्रो किस्ता रकम लिएको कार्यालयले जनाएको छ । यो कार्यक्रमअन्तर्गत प्रतिपरिवारले ३ लाखका दरले रकम पाउँछन ।

प्रकाशित मिति १२ फाल्गुन २०७६, सोमबार ०२:३२