संविधान संशोधनको कार्यदलमा बस्‍न नेम्वाङ र देवकोटाद्धारा अस्वीकार

फागुन ११, काठमाडौँ । संविधान संशोधनको विषयले नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र बिवाद देखिएको छ । संविधान संशोधनका लागि नेकपाद्वारा गठित कार्यदलमा बस्न स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटाले अस्वीकार गरेका छन् ।
सोमबार बिहान सचिवालय सदस्य माधवकुमार नेपालले नेम्वाङ र देवकोटालाई छलफलका लागि बोलाएका थिए । दुवैले जनाले कार्यदलमा बस्न अस्वीकार गदै असहमति जनाएपछि नेकपामा विवाद चुलिएको छ ।
’संविधान संशोधन जस्तो कुरा जनतालाई थाहा दिएर गर्नुपर्ने कुरा हो । यो गोप्य राख्ने कुरै होइन। जनतालाई लुकाएर सूचना बाहिरियो भन्नु गलत हो । संविधान संशोधन जस्तो गम्भीर विषयमा अपारदर्शी हुन मिल्दैन । त्यसमा मेरो सहमति छैन,’ गण्डकी संचारसँगको कुराकानीमा नेम्वाङले भने ।

यस्तै नेता देवकोटाले देशको शासकीय स्वरुप र निर्वाचन प्रणालीको बारेमा छलफलका लागि भनेर सचिवालय सदस्य नेपालको निवासमा गएको बताए । ’शासकीय स्वरुप र निर्वाचन प्रणालीको बारेमा छलफलका लागि भन्ने मनाशयले गएको थिएँ । राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउनका लागि संविधान संशोधन गर्नुपर्ने विषय भएपछि मैले समर्थन जनाउन सकिनँ,’उनले भने ।
लहडका आधारमा भन्दा आवश्यकता र औचित्यको आधारमा संविधान संशोधन हुनुपर्ने देवकोटाले बताए।आफूहरुको तर्कमा सचिवालय सदस्य नेपाल समेत सकारात्मक भएको नेम्वाङको दाबी थियो।

प्रकाशित मिति १२ फाल्गुन २०७६, सोमबार १०:१८