अनशनरत वडाध्यक्ष पौडेलको समर्थनमा माडी बन्द

फागुन १२, काठमाडौँ । चितवान स्थित माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको ६ दिनदेखि आमरण अनशन बसिरहेका छन् । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भरतपुर अस्पतालमा भर्ना गरिएको छ । विभिन्न माग राख्दै उनी फागुन ७ गतेदेखि अनशनमा बसेका थिए ।
अनशनका क्रममा उनको स्वास्थ्य जटिल बन्दै गएपछि आइतबार भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीसहितको टोलीले परीक्षण गरेको थियो । परीक्षणका क्रममा उनको शरिरमा अक्सिजनको मात्रा घट्दै गएको र मुटुको चाल बढ्दै देखिएको थियो । वडाध्यक्ष पौडेलको स्वास्थ्य गम्भीर बनेपछि बिहान भरतपुर अस्पतालमा ल्याइ सघन उपचार कक्षमा उपचार भइरहेको डा तिवारीले जानकारी दिए ।
यसैबीच अनशनरत पौडेलको माग सुनुवाइ नभएको भन्दै स्थानीयले सोमबार माडी बन्द गराएका छन् । माडी हुँदै सदरमुकाम चल्ने सवारीसाधन र त्यहाँका बजार ठप्प भएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन) नियमावली २०७६ पुनस् संशोधन हुनुपर्ने, बाँदरझुला साथै अमिलियाको उचित व्यवस्था गरिनुपर्ने, मानव वन्यजन्तु द्वन्द्व निवारणमा वन र बस्तीबीच वैज्ञानिक संरचना बनाउनुपर्ने र उत्तरी सिमानामा पर्ने रिउ खोला कोरिडोरको निर्माण व्यवस्थित गरिनुपर्ने माग पौडेलका छन् ।

प्रकाशित मिति १२ फाल्गुन २०७६, सोमबार १०:५२