राज्यलाई कम्युनिस्ट ढाँचामा ढाल्ने खतरनाक डिजाइन भएको छ : रामचन्द्र पौडेल

फागुन १२, काठमाडौँ । राज्यलाई कम्युनिस्ट ढाँचामा ढाल्ने र सर्वसत्ताबाद लाद्ने डिजाइनका साथ नेकपा अघि बढेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आरोप लगाएका छन् ।
‘सिंगो मुलुक र सम्पूर्ण राज्यलाई नै कम्युनिस्ट ढाँचामा ढाल्ने डरलाग्दो डिजाइनमा नेकपा नेताहरु लागेको छन् । राजधानीमा सोमबार संचारकर्मीसँगको अन्तरक्रियामा पौडेलले यस्तो आरोप लगाएका हुन् ।
राज्यका हरेक निकाय र क्षेत्रमा कम्युनिस्टकरण गर्ने कोसिस भइरहेको बताउँदै भने, ’कम्युनिस्टकरण गरेर सर्वसत्तावाद र अधिनायकवाद स्थापित गर्ने लक्ष्यसाथ काम भइरहेका छन् । सत्तामा बस्नेहरुको बोली व्यवहारले त्यही संकेत दिएको छ ।’
उनले जनउत्तरदायी लोकतान्त्रिक व्यवस्थामाथि गम्भीर प्रहार भइरहेको उल्लेख गर्दै भने, ’राष्ट्रियसभामा नेताले मनोनित गरेको व्यक्तिलाई प्रधानमन्त्री बनाउने योजनाअनुसार संविधान संशोधनको प्रयास भइरहेको छ। यो संसदीय पद्धतिमाथिको नियोजित प्रहार हो । कम्युनिस्टकरणको डिजाइनअनुसार यस्तो भएको छ ।’
उनले सरकारमै रहेकाहरुको संलग्नतामा संस्थागत रुपमा भ्रष्टाचार भइरहेको उल्लेख गर्दै भने, ’एकपछि अर्को गर्दै भ्रष्टाचारका कान्डहरु सार्वजनिक भएका छन् । राजनीतिक संरक्षणमा संगठित रुपमा भ्रष्टाचार भइरहेको छ तर छानबिन गर्ने निकायलाई पनि निकम्बा बनाइएको छ ।’ उनले वाइड बडीदेखि यति हुँदै सेक्युरिटी प्रेस खरिद प्रकरण सम्म आइपुग्दा सरकारको भ्रष्ट छवि उदांग भएको बताए ।

प्रकाशित मिति १२ फाल्गुन २०७६, सोमबार १३:५६