योजना कार्यान्वयनमा जलजला गाउँपालिका अगाडी

फागुन १३, पर्वत । पर्वतको जलजला गाउँपालिका विकास योजना कार्यान्वयनमा अन्य स्थानीय तहभन्दा अगाडी रहेको पाईएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा गाउँसभाबाट पारित गरेका विकास योजना कार्यान्वयन तीव्र चासो देखाएको छ । सडक, सिँचाइ, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायत पूर्वाधारतर्फका योजना कार्यान्वयनमा गाउँपालिकाले धमाधम काम गरेको छ । उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिने योजनाको समिति गठन र सम्झौता गरी धमाधम कार्यान्वयन शुरू गरिएको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकष्ण’ले जानकारी दिनुभयो ।

गाउँसभाबाट विनियोजन भएका २३६ योजनामध्ये माघको तेस्रो सातासम्म १५७ योजनाको उपभोक्ता समिति गठन भई सम्झौता भएको अध्यक्ष मल्लले बताउनु भयो । उहाँका अनुसार ४९ ओटा योजना सम्पन्न भएका र १०८ ओटा कार्यान्वनयको चरणमा छन् । गाउँपालिका योजना शाखाका अनुसार चालू आवमा रू. ५० लाखभन्दा माथिका २ ओटा, रू. १० लाखदेखि ५० लाखसम्मका १५ ओटा योजना विनियोजन भएका थिए ।

त्यसमा ११ ओटा योजना सम्झौता भई १० ओटा कार्यान्वयनको चरणमा छन् भने एउटा सम्पन्न भइसकेको छ । यस्तै, रू. ५ लाखदेखि १० लाखसम्मका ३० ओटा योजना विनियोजन भएकामा २३ ओटा योजनाको सम्झौता भएको र १९ ओटा कार्यान्वयनको चरणमा रहेको मल्लले दाबी गर्नुभयो । रू. ५ लाखभन्दा मुनिका १८९ योजना विनियोजन गरेको गाउँपालिकाले १२१ योजनाको सम्झौत गरी ७७ योजना कार्यान्वयन शुरू भएको र ४४ ओटा योजना सम्पन्न भएका छन् ।

वडाबाट सिफारिश भई गाउँपालिकाबाट विनियोजन भएका विकास योजनाको कार्यान्वयनमा उपभोक्ता समितिहरू जुटेको छ । असारे विकासलाई नियन्त्रण गर्ने गरी योजना कार्यान्वयनलाई गाउँपालिकाले प्राथमिकतामा राखेको कार्यालयले जनाएको छ । गाउँपालिकाले सञ्चालन गरेका विकास आयोजना तथा कार्यक्रमका लागि पूँजीगत शीर्षकमा विनियोजन भएको रू. १४ करोड ६७ लाख ७५ हजारमध्ये अहिलेसम्ममा करीब ४ करोड रुपैयाँ खर्च भएको छ ।

प्रकाशित मिति १३ फाल्गुन २०७६, मंगलवार ०४:०७