एउटा व्यक्तिका लागि संविधान संशोधन गर्न खोज्नु दुःखद् : राजपा

फागुन १३, काठमाडौँ । राष्ट्रिय जनता पार्टी राजपाका सांसद प्रमोद साहले एउटा व्यक्तिका लागि संविधान संशोधन गर्न खोज्नु दुःखद् भएको बताउनुभएको छ । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साहले प्रश्न गर्नुभयो, प्रधानमन्त्रीले आवश्यकता र औचित्यको आधारमा संविधान संशोधन हुन्छ भन्दै आउनु भएको थियो, के त्यो आवश्यकता र औचित्य भनेको एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाउनु हो ? सरकार र सत्तारुढ दलले विगतमा मधेशवादी दलहरूसँग ३० पटक भन्दा बढी संविधान संशोधन गर्ने सम्झौता गरेको सांसद साहले उल्लेख गर्नुभयो ।

विभिन्न समुदायले आफ्नो मानसम्मान, स्वाभिमान, पहिचान र अधिकारका लागि माग गर्दा तयार नभएको नेकपाले व्यक्तिका लागि संविधान संशोधन गर्न कार्यदल नै बनाएको भन्दै सांसद साहले संविधान संशोधनका लागि शुभकामना भन्नुभएको थियो ।

प्रकाशित मिति १३ फाल्गुन २०७६, मंगलवार १३:११