मोदी देउरालीका वडा अध्यक्षको ज्यादती बढ्दै, कुडुलेमा जबरजस्ती डोजर चलाउँदा स्थानीय घाइते, जग्गादातामाथि कुटपिट, महिलालाई लछारपछार (फोटो फिचर)

फागुन १३, पर्वत । पर्वतको मोदी गाउँपालिकामा सडक खन्ने विषयमा विवाद उत्पन्न भएको छ । मोदी गाउँपालिका ३ देउरालीमा स्थानीयको अवरोधका बिच सडक बिस्तार गर्न थालेपछि विवाद भएको हो । वडा कार्यालयको सिफारिसमा स्थानीय उपभोक्ता समितिले जनकल्याण प्रावि बाट बायाँटारी सम्मको दुई सय मिटर बाटो खन्न थालिएको छ ।

बाटो खन्ने क्रममा स्थानीयले आफ्नो खेतवारी मासिएको भन्दै विरोध गर्दै आईरहेका छन् । तर, स्थानीयको अवरोधको वेवास्ता गर्दै हिजो डोजर लगाएर भत्काउन थालेपछि दुई पक्षका बिचमा कुटाकुट भएको छ । जग्गा मिचेर सडक बनाउन नदिने समूह र सडक बनाउन चाहने पक्षका बिचमा कुटाकुट हुँदा स्थानीय चोलानाथ शर्मा, हरिकला सुबेदी, तिर्थराज सुबेदी, सावित्रा सुबेदी, गणेश सुबेदी, विमल शर्मा लगायत ७ जना घाईते भएको स्थानीयले जानकारी दिएका छन् । घाईते मध्ये चोलानाथ पर्वत अस्पतालमा भर्ना हुनुभएको छ ।

घाईते चोलानाथ शर्माले डोजर रोकेर आफ्नो वारीमै सुतेपछि वडा अध्यक्षको उक्साहटमा आएको समूहले लछारपछार पारेको जानकारी दिनुभयो । शर्माले पर्वत अस्पतालको शैयाबाट आफ्नो जग्गा जोगाउन खोज्दा कुटपिट भएको भन्दै न्यायको खोजी गरेको बताउनुभयो । वडा अध्यक्ष देबेन्द्रबहादुर क्षेत्रीसहित हेमराज सुबेदी, डम्बरबहादुर विक, युवराज सुबेदी, तेजबहादुर पुन, पुर्णबहादुर परियारसहित झण्डै ५० जनाको संख्यामा आएको समुहले जबरजस्ती डोजर लगाएको र रोक्न खोज्दा गाउँलेलाई मरणासन्न हुने गरि कुटेको पीडित पक्षको आरोप छ ।

वडाध्यक्ष देबेन्द्रवहादुर क्षेत्रीले भने समझदारी गरेर नै काम अगाडी बढाइएको बताउनुभएको छ । पहिला बाटो खन्न सहमती दिएका मानिसहरु नै अहिले विनाकारण विरोधमा निस्किएको क्षेत्रीले बताउनुभएको छ । सडकको विषयमा अदालतमा समेत रिट परेको र अदालतले सडक विस्तार गर्न आदेश दिईसकेको हुनाले वडाले सहजीकरण गरेर सडक विस्तार गरेको क्षेत्रीले बताउनुभयो । क्षेत्रीले भन्नुभयो,‘ हामीले सडक विस्तार गरिरहँदा उहाँहरु आएर डोजरमा झुण्डिएर अवरोध गरेपछि सहज तरिकाले तर्काएको हो ।

कुटपिट कसैलाई गरिएको छैन । सबै कुरा फिल्डमा आएर बुभ्mदा हुन्छ ।’ वास्तविकता नवुझी समाचार नबनाउन बरु सहजीकरण गर्न उहाँले सवादातालाई आग्रह गर्नुभयो । एकथरिले बाटो माग गर्ने अर्को थरिले बाटो चाहिँदैन भनेर भन्दा वडा समस्या परेको क्षेत्रीले सुनाउनुभयो । विकासमा अवरोध नगर्न उहाँले स्थानीयलाई आग्रह गर्नुभएको छ । बस्ती नभएको ठाउँमा सडक लैजान बलमिच्याई गर्दै वडाले विवाद बढाएको स्थानीयले बताएका छन् । कुटपिट भएको विषयमा पीडित पक्षले प्रसासन र प्रहरीमा उजुरी समेत गरेका छन् ।

स्थानीयले बायटारीमा बस्ती नभएको र सडक आवश्यक नभएकोले ब्यक्तिको जग्गा नोक्सान गरेर बस्ती नै नभएको ठाउँमा सडक लैजान नदिने अडान लिदै आएका थिए । तुलसीराम सुबेदीले भने विगत तीन बर्षदेखि जबरजस्ती भएपनि आफ्नो खेतमा सडक पु¥याएरै छाड्ने अडान लिईरहनुभएको थियो । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले प्रसासनको टोलीले स्थलगत रुपमा अनुगमन गरि वास्तविकता बुझनुपर्ने अवस्था रहेको बताउनुभयो । निवेदकले विपक्षी बनाई उजुरी गरेको पक्षलाई छलफलका लागि आउन पत्र काटिएको नेपालले जानकारी दिनुभयो । दुबै पक्षलाई छलफलमा बोलाएर समस्याको समाधानको पहल गरिने प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभयो ।

जग्गाधनी र वडाका बिचमा विगत लामो समयदेखि बिबाद रहेपनि गाउँपालिकाले बिबाद समाधानमा वास्ता नगरेको पाईएको छ । न्याय खोज्दै सदरमुकाममा आएका स्थानीयलाई भेटेपछि संविधानसभा सदस्य एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले सडक, बत्ती, खानेपानी, सिंचाई लगायतका विकास निर्माणमा अबरोध हुनुहुँदैन भन्नेमा आफु स्पष्ट भएपनि बस्ती नै नभएको ठाउँमा जबरजस्ती गर्ने, कुटपिट गर्ने, महिलामाथि लछारपछार र दुब्र्यवहार हुनु दुर्भाग्य भएको बताउनुभयो । उहाँले कोही कसैलाई अन्याय हुन नहुने भएकोले छानबिन गरेर दोषीलाई कारबाही गर्न प्रजिअ नेपाल र प्रहरी प्रमुख श्यामू अर्याललाई आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति १३ फाल्गुन २०७६, मंगलवार १४:१०