मोदीमा योजना अनुगमनको नयाँ अभ्यास

फागुन १४, पर्वत । पर्वतको मोदी गाउँपालिकाले फागुनमै योजनाहरुको अनुगमन शुरु गरेको छ । गाउँपालिकाले असारमा मात्रै योजनाहरुको अनुगमन गर्ने प्रचलन तोड्दै फागुनमै योजनाहरुको अनुगमन शुरु भएको हो । असारमा विकास गर्ने र असार महिनामा अनुगमन गरी योजनाहरु फरफारक गर्ने चलन बढ्दै गएका बेला मोदीमा भने नयाँ अभ्यास शुरु भएको छ ।
योजनाहरुको अनुगमनका लागि गाउँपालिका तथा नगरपालिकाहरुमा उपाध्यक्षलाई अनुगमन समितिको संयोजक कानूनले नै तोकेको छ । उपाध्यक्षको अध्यक्षतामा हुने अनुगमन समितिले अहिले दोस्रो र तेस्रो चौमासिकबाट नै अनुगमन कार्य शुरुवात गरेका छन ।
मोदीमा दोस्रो चौमासिकबाट नै अनुगमन कार्यको शुरुवात भएको छ । अनुगमन समितिका संयोजक गाउँपालिकाका उपाध्यक्ष सेती महतले प्राविधिक सहितको टोली लिएर अनुगमन शुरु गर्नुभएको छ । महतले निर्माण कार्य सम्पन्न भएका योजनाहरुको फरफारकका लागि अनुगमन शुरु भएको जानकारी दिनुभयो ।गाउँपालिबाट चालु आर्थिक बर्षमा निर्माण हुने योजना मध्ये निर्माणकै चरणमा रहेका योजनाहरुको समेत अनुगमन गरिएको छ ।गाउँपालिकाबाट विनियोजित योजनाहरु मध्ये सडक, सिञ्चाई र पूर्वाधार तर्फका योजनाहरुको अनुगमन कार्य भईरहेको गाउँपालकाका उपाध्यक्ष महतले जानकारी दिनुभयो । महतका अनुसार प्राविधिक मूल्यांकन बमोजीम फिल्डमा काम भए नभएको विषयमा प्राविधिक सहित अनुगमन गरिएको छ ।
अबबाट कागजमा मात्र काम भएको देखिने दिनको अव अन्त्य हुने बताउँदै महतले योजनाको सामाजिक प्रभावको विषयमा समेत अनुगमन भइरहेको बताउनुभयो । निर्माण कार्य सकिएका योजनाहरुको अन्तिम भुक्तानीको प्रक्रिया शुरु भईसकेको बताउँदै महतले आगामी बैशाख महिनाभित्र सबै योजनाको निर्माण कार्य सम्पन्न गर्ने गरी गाउँपालिकाले निर्माण कार्यलाई तिव्र गतिमा अगाडि बढाईरहेको महतले बताउनुभयो ।

प्रकाशित मिति १४ फाल्गुन २०७६, बुधबार १५:२३