हाईटेन्सन लाईन जथाभावी विस्तार भएपछि शेराबेसीका बासिन्दा त्रसित

फागुन १४, पर्वत । नयाँ मोदी लेखनाथ प्रसारण लाईन विस्तारको क्रममा सिंगो बस्ती, विद्यालय र खेतीयोग्य जमिनमा असर हुने भएपछि पर्वतको मोदी १ शेराबेसीका बासिन्दाले उपयुक्त विकल्प खोजी गर्न माग गरेका छन् ।

वस्ती नजिकै बाट प्रसारण लाईन निर्माण हुन लागेपछि आयोजनाको काम रोक्दै आएका स्थानीयले आफुहरु आयोजनाको काम रोक्ने पक्षमा नरहेको तर भविष्यमा हुन सक्ने क्षती लाई मध्यनजर गरि लाईन विस्तार गर्न माग गरेका हुन् । १२० केभिए प्रसारण लाईन विस्तारका लागि सर्भे भएको क्षेत्रमा १५ घरधुरी परिवारको वस्ती रहेको, लाईनमुनी नै नवज्योती थम मावि पर्ने र खेतीयोग्य जमिन समेत भएकाले लाईन विस्तारको काम स्थानीयले रोक्दै आएका छन् ।

स्थानीय तुलक अधिकारीले वस्ती नजिकैबाट लाईन विस्तार गर्न नदिने तर वस्ती छलेर लैजाने अन्य विकल्प दिन सक्ने बताउनुभयो । प्रसारण लाईनका कारण वस्ती, विद्यालय र खेती हुने जमिन समेत प्रभावित हुने भएकाले दुङदुङे भीरको छेउछाउ पारेर लाईन विस्तार गर्दा समस्या नहुने अधिकारीले बताउनुभयो । आयोजना पक्षले शुरुमा सोहि क्षेत्रमा सर्भे गरेको जानकारी दिँदै अधिकारीले पछि प्राविधिकले वदमासी गरेर बस्तीको बिच भागबाट लाईन बिस्तार गर्न बल गरेको हुनाले आयोजनाको काम रोक्नुपरेको बताउनुभयो । पर्वत भएर बग्ने मोदीखोला र कास्कीमा बग्ने सेतीनदी र मर्दीखोलामा बन्ने बिद्युत आयोजनाहरुबाट उत्पादित बिद्युतलाई पोखरास्थित सवस्टेशनबाट राष्ट्रिय प्रसारणलाईनमा जोड्न नयाँ मोदी लेखनाथ प्रसारण लाईन निर्माण भैरहेको छ । यो राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना हो ।

स्थानीयले सहज वातावरण बनाईदिन मोदी गाउँपालिका, जिल्ला प्रसासन कार्यालय र नेपाल सरकारका उर्जा मन्त्री समेतलाई गुहार्दा पनि आयोजना पक्षले प्रसारण लाईन बिस्तारको मोडालिटी परिवर्तन नगरेकोमा शेराबेसीका बासिन्दा निराश छन् । नवज्योती थम माविका प्रधानाध्यापक मीनाकुमारी गुरुङले प्रसारण लाईनले विद्यालयमा प्रत्यक्ष गर्ने दाबी गर्नुभयो । विद्युत लाईनमुनी पर्ने जग्गामा भौतिक संरचना निर्माण गर्न नमिल्ने भएपनि विद्यालय नै लाईनमुनी परेको गुरुङले बताउनुभयो ।

आयोजना पक्षले विद्यालयलाई असर नगर्ने गरि लाईन विस्तार गरोस भन्ने आग्रह गरिएको प्रधानाध्यापक गुरुङले स्पष्ट पार्नुभएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन पौडेलले विद्यालयलाई प्रत्यक्ष असर गर्ने गरि लाईन विस्तार हुन नहुने अडान रहेको बताउनुभयो । पौडेलले विद्यालयमा लाईन विस्तारको हल्लाले अहिले नै अभिभावकहरु संसकित भैरहेको जानकारी दिँदै आफूहरु चपेटामा परेको गुनासो गर्नुभएको छ ।

मोदी गाउँपालिका २ देउपुर देखि कास्कीको पोखरा महानगरपालिका लेखनाथ सम्म निर्माण हुने प्रसारण लाईन ४२ किलोमिटर लामो छ । प्रसारण लाईनमा १ सय ३८ वटा टावर रहने छन । त्यस मध्ये शेराबँेसीका ३ वटा टावर स्थानान्तरण गरेर तल वा माथिबाट लानुपर्ने माग गरिएको कार्यवाहक वडाध्यक्ष भुलवहादुर पौडेलले बताउनुभयो ।

स्थानीयले लाईन विस्तार गर्दा असर पर्ने त्रासमा हुँदा पनि आयोजना निर्माण पक्ष मुकदर्शक बनेकोमा पौडेलले आपत्ती जनाउनुभएको छ । भारतीय एक्जिम बैंकको सहयोग र नेपाल सरकारको समेत लगानीमा २ अर्ब २५ करोडको लागतमा निर्माण हुने प्रसारण लाईन डेढ वर्षभित्र सक्ने लक्ष्य राखिएको छ । आगामी जुन सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएपछि कोरुङ्गामा सवस्टेशन निर्माणको काम पुरा हुँदैछ ।

प्रसारण लाईन बनेपछि देउपुर स्थित सबस्टेशनमा मोदीखोला र आसपासका नदीबाट उत्पादित बिद्युत जोडिनेछन भने कास्कीको लहाचोक सबस्टेशनमा सेतीनदी र मर्दीखोलाबाट उत्पादित बिद्युत जोडिनेछन ।

प्रकाशित मिति १४ फाल्गुन २०७६, बुधबार १८:१०