सरकारमा भ्रष्टाचार बाहेक केही काम भएको छैनः सभापति देउवा

फागुन २१, काठमाडौँ । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सरकारमा भ्रष्टाचार बाहेक केही काम नभएको बताउनुभएको छ । प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले ‘डल्लो बजेट’ मार्फत भ्रष्टाचार बढेको बताउनुभयो ।

डल्लो बजेटको नाममा कार्यकर्तालाई जथाभावी पैसा बाँड्ने काम भएको बताउँदै उहाँले काँग्रेसले भ्रष्टाचार विरुद्ध आवाज उठाइरहेको बताउनुभयो । सुदूरपश्चिम प्रदेश सरकारले पनि भ्रष्टाचार बाहेक केही काम गर्न नसकेको देउवाले बताउनुभयो । सभापति देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) जस्ताको त्यस्तै पारित हुनुपर्ने समेत बताउनुभयो ।

एमसीसी जस्तोको त्यस्तै पास गर्नुपर्ने बताउँदै देउवाले एमसीसीले नेपाललाई ठूलो आर्थिक लाभ हुने दावी गर्नुभयो । विश्वभरी फैलिरहेको कोभिड– १९ कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिने भन्दै सभापति देउवाले चिन्ता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति २१ फाल्गुन २०७६, बुधबार १६:१८