फलेवास नगरका सवै वडामा ‘श्रमिक कल्याणकारी कोष’ संचालन

फागुन २३, पर्वत । पर्वतको फलेवास नगरपालिकाले श्रमिक कल्याणकारी कोष सञ्चालन गरेको छ । विपन्न र कम आय भएका श्रमिकको निश्चित रकम कोषमा जम्मा गर्ने र नगरपालिकाको तर्फबाट पनि कोषमा निश्चित रकम जम्मा गरेर श्रमिक परिवारलाई ६० वर्ष पछि उपदानको रुपमा फिर्ता गर्ने गरि कोष स्थापना गर्ने नयाँ कार्यक्रम शुरु भएको हो । नगरपालिकाले कोष स्थापनाका लागि पहिलो चरणमा तथ्यांक संकलन गरि त्यसमध्ये १० प्रकारका श्रमिकलाई कार्यक्रममा समावेश गराउने लक्ष्य तय गरेको छ ।

सडक निर्माणमा खटिने श्रमिक, ज्यामी, आरन व्यवसायी, छालाका जुत्ता बनाउने व्यवसायी, सिलाइकटाइ तथा लघु एवम् साना उद्यमी, पुरोहित, बाजा बजाउने दलित समूदाय, सुनका गहना बनाउने ज्यामी, डकर्मी, सिकर्मी लगायतलाई कोषमा आबद्ध गराउने लक्ष्य रहेको नगरप्रमुख पदमपाणी शर्माले बताउनुभयो । न्यून आर्थिक उपार्जन गर्ने र दिनभरि श्रम गरेर छाक टार्ने बर्गलाई उनीहरुले आर्जन गर्ने थोरै रकमलाई बचत गर्ने र नगरले पनि कोषमा ६० वर्ष पछि कुल जम्मा भएको रकममा ७५ प्रतिशत थप गरि उपदानको रुपमा लाभग्राहीलाई रकम फिर्ता गर्ने गरि कार्यक्रम सञ्चालन गरेको शर्माले बताउनुभयो । निजामती कर्मचारी, प्रहरी, पेन्सन पाउँदै आएका पूर्व कर्मचारीहरू र वैदेशिक रोजगारीमा गएकाहरू भने कोषमा समावेश हुन पाउने छैनन् ।

श्रमिक कल्याणकारी कोष सञ्चालन गर्दा नगरपालिकालाई ६ सय घरधुरी भएमा एक बर्षमा १८ लाख, १२ सय घरधुरी समावेश भएमा ३६ लाख र अधिक बचत भएमा ५४ लाख र मासिक ३ सय अनिवार्य बचत गरेमा १२ सय घरधुरीलाई बर्षमा एक करोड ८ लाख रकम व्ययभार नगरपालिकालाई पर्ने आकंलन गरिएको नगरपालिकाका योजना व्यवस्थापक देवीप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँले गरिवी निवारण र श्रमिक कल्याणका लागि सामाजिक सुरक्षामा आधारित यो नौलो अभ्यास नगरपालिकाले शुरु गरेको बताउनुभयो ।

कार्यक्रम शुरु भएपछि श्रमिकहरू उत्साहित भएका तिमिल्सिनाको भनाइ छ । नगरपालिकाले ११ वटै वडामा पहिलो चरणमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ भने कार्यक्रम कार्यान्वयनका लागि लाभग्राहीको फारम भर्ने र संकलन गर्ने कार्यक्रम शुरु गर्न थालेको छ ।

प्रकाशित मिति २३ फाल्गुन २०७६, शुक्रबार ०७:४४