पनाहीकाे प्रश्नः इरानमा कस्ताे छ महिलाकाे स्थिति ?

कलाकारिता क्षेत्रमा प्रवेश गर्न नेपाली महिलालाई गाह्रै छ । सेलेब्रिटी भइसकेपछिको कुरा बेग्लै होला, तर सुरुमा परिवार र समाजले निको मान्दैन । यस्तै समस्या अन्य देशका महिलाले पनि भोग्दै आएका छन् । इरानी फिल्म निर्देशक जफर पनाहीले यही अप्ठयारोमाथि केन्द्रित भएर ‘थ्री फेसेस’ बनाएका छन् । हालै सम्पन्न ७१ औं क्यान्स फेस्टिभलको मुख्य विधामा छानिएको फिल्मले बेस्ट स्क्रिनप्ले अवार्ड जितेको थियो ।

अभिनेत्री बन्न चाहने एक किशोरीको खोजीमा पनाही र अभिनेत्री बेहनाज जफारी इरानको एउटा गाउँ पुग्छन् । तिनको यात्रामार्फत् समाज वा भनौं राष्ट्रकै पितृसत्तात्मक प्रवृत्तिमाथि निर्देशकले प्रश्न उठाएका छन् । यो नै ‘थ्री फेसेस’को सुन्दर र प्रशंसनीय पहल हो । पनाहीका अन्य फिल्मझैं यो सरल र साधारण छ । एउटा सानो रहस्य पत्ता लगाउने सिलसिलामा फिल्मले समग्र महिला र त्यसमा पनि विशेषतः अभिनेत्रीहरूलाई कसरी दबाबमा राखिन्छ भन्ने देखाएका छन् ।

इरान सरकारले निर्देशक पनाहीलाई बीस वर्षसम्म फिल्म बनाउन र विदेश यात्रामा निस्किन प्रतिबन्धित गरेको छ । तैपनि उनले गुरिल्ला शैलीमा फिल्म बनाइरहेका छन् । पनाहीले फिल्म ‘थ्री फेसेस’मा आफ्नो अनुभूति जोडेको महसुस हुन्छ ।

दबाएर राखिएका महिलाको व्यथा उनले महसुस मात्र होइन स्पर्श गरेका छन्, तिनको रोदन आफ्नै ठानेका छन् । यही कारण तीन पुस्ताका महिलाको समानता देखाउन उनी सफल भएका छन् । त्यो समानता विभेदको हो, पुरुषप्रतिको महिला आक्रोशको हो । फरक कालखण्डका महिला कुन तरिकाले दबिएका छन् भन्ने देखाएर उनले दबाबको समानता उजागर गरेका छन् ।

आर्टहाउस विधा मनपराउनेलाई यो फिल्म अवश्य राम्रो लाग्ला । पनाहीको ‘दिस इज नट अ फिल्म’लाई पनि यसअघि फिल्म महोत्सव धाउने र आर्ट मुभी पछ्याउने दर्शकले सराहना गरेका थिए । यसपटक निर्देशकले खेपिरहेको कानुनी उल्झनले पनि ‘थ्री फेसेस’लाई थप चर्चा दिलाउने अनुमान गर्न सकिन्छ । त्यसमाथि क्यान्सको सफलता जोडिएकै छ ।

फिल्ममा निर्देशक पनाही र अभिनेत्री बेहनाज टर्किस भाषा बोलिने इरानको अजरबैजान पुग्छन् । उनीहरू मर्जियाको खोजीमा हुन्छन्, जसले बेहनाजलाई दुःखद भिडियो म्यासेज पठाउने गरेकी हुन्छे । भिडियोमा उसले आफू अभिनेत्री बन्न चाहेको तर परिवारले साथ नदिएपछि आत्महत्या गर्न लागेको दृश्य कैद गरेकी हुन्छे । यो कुराले बेहनाज (जो फिल्ममा पनि अभिनेत्रीकै भूमिकामा छिन्) लाई निकै सताउँछ । ऊ निर्देशकको भूमिकामा रहेका पनाहीलाई लिएर मर्जियाको गाउँ पुग्छे ।

गाउँलेले बेहनाज र पनाहीको कुरा विश्वास गर्दैनन् । मर्जियाको त्यस्तो सोच नै नभएको जिकिर गर्छन् । उनीहरू मर्जिया ज्युँदै छ कि छैन भन्दै पुगेका हुन्छन् । ऊ मरेकी भए भिडियो कसरी पठाइयो भन्ने प्रश्न जायज बन्छ । खैर, के चाहिँ स्पष्ट छ भने फिल्लममा जफर र बेहनाजलाई कुनै हालतमा पनि गाउँ पुग्नु छ र तिनले मर्जियाजस्ता महिलाको जीवन अनुभूत गर्नु छ । तसर्थ, आत्महत्याको कुरालाई फगत माध्यम बनाइएको छ ।

आफ्ना पितापुर्खा हुर्केको गाउँमा फिल्म खिचेका पनाहीले अशिक्षित गाउँलेप्रति सहानुभूति प्रकट गर्न खोजेका छन् । मान्छेभन्दा वस्तुभाउ धेरै भएको समुदायमा प्रशस्त धार्मिक अन्धविश्वास देखिन्छ भने मर्जिया जस्ता प्रतिभावान कलाकारलाई शंका गर्ने चलन छ । गाउँलेप्रति दया प्रदर्शन गर्ने वा तिनलाई निच देखाउनु ‘थ्री फेसेस’को उद्देश्य होइन । केही गर्न चाहेनेलाई कसरी दबाइन्छ भन्ने उजागर गर्नु नै यसको मुख्य लक्ष्य हो ।

फिल्म संयोग नै संयोग वा आकस्मिक जम्काभेटले भरिपूर्ण छ । कथा एकातिर बगिरहँदा सफल अभिनेत्रीको चित्रण गरिएकी बेहनाज कसरी लैगिंकवादको शिकार बनेकी छिन् भन्ने देखाइन्छ । अर्काेतिर, पनाही र बेहनाजको गाउँलेसँगको संवाद यति अनौपचारिक छ कि त्यसले फिल्मलाई अगाडि बढाउन कुनै सहयोग गरेको छैन ।

इरान सरकारले फिल्म निर्माणमा प्रतिबन्ध लगाएको आठ वर्ष भइसक्दा पनाहीले चारवटा फिल्म रिलिज गरिसकेका छन् । अधिकांशमा उनी आफैं मुख्य कलाकारका रूपमा देखिएका छन् । आधुनिक इरानको विलाप गाउँदै उनले फिल्ममार्फत् आफ्नो मनोभाव जाँचेको आभास हुन्छ । यसमा पनि उनको दमित स्थितिलाई परोक्ष शैलीमा बुनिएको छ ।

(स्क्रिनडेलीबाट अनुवादित)

प्रकाशित मिति १८ जेष्ठ २०७५, शुक्रबार ०४:०७