‘कलिउड’ले नेपाली हाेइन तामिल सिनेमालार्इ बुझाउँछ

हामी कुनै पनि शब्दलाई गहिराईमा नबुझी त्यसलाई सजिलै प्रयोग गरिरहेका हुन्छौं । ‘कलिउड’ एउटा त्यस्तै शब्द हो, जुन हामीले जे सोचेका छौं, त्यो होइन । तैपनि हामी यसलाई आफ्नो ठान्दै प्रयोग गरिरहेका छौं ।

कुनै मान्छे, ठाउँ वा चीजको नाम जुराउन ‘कुण्डली’ केलाइन्छ । मौलिक पहिचान उजागर गर्ने र तर्कसंगत लाग्ने नाम नै रोजिन्छ । तर, नेपाली फिल्मलाई चिनाउन अनौपचारिक रुपमा प्रयोग गरिने शब्द ‘कलिउड’ले न मौलिक पहिचान नै बोक्छ, न यो तर्कसंगत नै छ ।

फिल्म क्षेत्रका धेरैजसो हर्ताकर्ता र फिल्म पत्रकारहरुले यो शब्दलाई हुर्काइरहेका छन् । यही शब्दमा एउटा नेपाली फिल्म पनि बनिसकेको छ । पत्रिका, अवार्ड र कार्यक्रमको नामाकरण नै यस शब्दबाट भइसकेको छ ।

‘कलिउड’ शब्दले के बुझाउँछ त ? एकचोटी गुगलमा सर्च गरौं । कलिउड टाइप गर्याैं भने सबैभन्दा माथि देखिन्छ, तामिल सिनेमा । सर्च रिजल्टमा कलिउड शब्दसँग जोडिएका लिंक लाखाैं रहेको जानकारी आउँछ ।

अब गुगल इमेजमा कलिउड टाइप गरेर खोजौं । ठूल्ठूला वक्षस्थल र ढाड भएका अभिनेत्री तथा जुँगेवाल मोटाघाटा अभिनेताहरुको फोटो बुरुरु प्रकट हुन्छ । नेपालका राजेश हमाल र रेखा थापाहरुको अत्तोपत्तो छैन त्यहाँ । कलिउड सिनेमा टाइम गरेर खोज्दा पनि रजिनीकान्त र कमल हसनका फोटो आउँछन् ।

विकिपेडियाले कलिउडको परिभाषा दिँदै भन्छ, ‘हलिउड र कोदाम्बकमको ठिमाहा शब्द ।’ अर्थात् तामिल फिल्म निर्माण गर्ने धेरैजसो कम्पनी कोदाम्बकम क्षेत्रमा भएकोले कलिउड शब्दको सिर्जना भएको रहेछ । तर, कलिउड पनि तामिल फिल्म उद्योगका संघसंगठनले मानेको औपचारिक शब्द भने होइन ।

बरु बलिउड शब्दलाई अक्सफोर्ड डिक्सनरीले मान्यता दिइसकेको छ । बम्बई र हलिउडको मिश्रणबाट बनाइएको बलिउड शब्द पनि अमिताभ बच्चन, आमिर खान, नसिरुद्दिन शाहजस्ता फिल्मकर्मीहरुले बहिष्कार गर्दै आएका छन् । यो शब्दले हिन्दी फिल्मलाई हलिउडकै नक्कलको रुपमा प्रस्तुत गर्ने धेरैको ठहर छ ।

हुन पनि कलिउड, बलिउड जस्ता शब्द हलिउडकै छायाँ हुन् । वास्तवमा अमेरिकी फिल्मलाई बुझाउन प्रयोग गरिने हलिउड के हो त ? गुगलमा खोज्यौं भने पाइन्छ, हलिउड अमेरिकी राज्य क्यालिफोर्नियाको लस एन्जल्स सहरको एउटा जिल्ला हो । हलिउड एउटा ठाउँको नाम हो, जो अहिले पनि अस्तित्वमा छ ।

सन् १८७० सम्म हलिउड एउटा सानो बस्ती थियो, जतिखेर संसारमा फिल्मको आविष्कार नै भइसकेको थिएन । यसलाई सन् १९०३ मा नगरपालिका बनाई १९१० मा लस एन्जल्स सहरमा गाभिएको रहेछ । हावापानी राम्रो भएकोले सन् १९१२ देखि यस क्षेत्रमा फिल्म बन्न र स्टुडियोहरु खुल्न थालेका रहेछन् । हलिउड क्षेत्रका स्टुडियोहरुले बनाउने भएकाले अमेरिकी फिल्मलाई हलिउड शब्दबाटै चिनाइयो, जसमा बलियो तर्क भेटिन्छ ।

जुन फिल्म उद्योगमा सिर्जनात्मकताको अभाव छ, जहाँ ‘क्वालिटी’भन्दा ‘क्वान्टिटी’लाई प्राथमिकता दिइन्छ, त्यहीँ बलिउड, कलिउड वा नलिउड (नाइजेरिया) शब्द हावी भएको पाइन्छ । कलात्मक रुपमा उदाहरणीय फिल्म बनाउने फ्रान्स, चीन, इरान, इटाली जस्ता मुलुकमा यस्तो ‘उड’ जोडिएको शब्द प्रचलनमा छैन । अमेरिकामा पनि हलिउडको सञ्जालभन्दा बाहिर काम गर्ने फिल्मकर्मीहरु छन् । उनीहरुले आफूलाई हलिउडको नामबाट चिनाउन चाहँदैनन् ।

दर्शकलाई मनोरञ्जन र शिक्षा प्रदान गर्ने प्रभावशाली माध्यम फिल्म एउटा कला हो । मौलिक, सिर्जनशील र अभिव्यक्तिप्रधान हुनैपर्छ फिल्म । आफूमात्र होइन दर्शकलाई पनि सिर्जनशील बन्न प्रेरित गर्नु फिल्मकर्मीको धर्म हो । र, यो ‘धर्म’ले नेपाली फिल्मलाई चिनाउन ‘कलिउड’ शब्द प्रयोग गर्ने अनुमति कदापि दिँदैन ।

नेपाली फिल्मकर्मीले त झन् हलिउड र बलिउडले बिस्तार गरिरहेको सांस्कृतिक साम्राज्यवादसँग जुध्नुपर्छ । यसका लागि फिल्मकर्मीले सुरुमा ‘कलिउड’ शब्द अपनाउन छाड्नुपर्छ । किनभने ‘उड’ जोडिएको कुनै पनि शब्द स्विकार्नु भनेको आत्मसमर्पणवादी बन्नु हो । हलिउड र बलिउडसँग प्रतिस्पर्धा गर्ने हो भने उनीहरुको नक्कल फिटिक्कै गर्नु भएन । नक्कल गर्नु अझ पराजित हुनु हो ।

आफ्नो समाजको कथा, भाषा, शैली र संस्कृति नै नेपाली फिल्मकर्मीका सशक्त हतियार हुन् । हलिउड, बलिउड वा संसारका अरु कुनै पनि फिल्ममा हेर्न नपाइने कथा, भाषा र शैली चित्रण गरियो भने मात्र नेपाली फिल्मको पहिचान बन्छ । पहिचानकै लागि संघर्ष गरिरहेको नेपाली फिल्मले ‘कलिउड’ शब्द अँगाल्नु सोझै आत्महत्या हो ।

यो शब्दको विरोध गर्ने फिल्मकर्मीहरु नेपालमा नभएका होइनन् । तर उनीहरुमध्ये धेरैजसो ‘कुनै नाम त चाहियो नि’ भन्दै दिमाग खियाइरहेका छन् । कसैले उडमान्डु त कसैले सिनेमान्डु राख्नुपर्याे भन्दै सुझाव दिइरहेका छन् । कसैले चाहिँ नेलिउड पनि सुझाएका छन् ।

के फिल्म उद्योगलाई नाम अपरिहार्य छ त ? वास्तवमा छैन । नेपालका डिभिडी पार्लरहरुमा हङकङ, कोरिया, थाइल्यान्डका फिल्म छ्यापछ्याप्ती पाइन्छ । खोइ त ? ती फिल्म उद्योगको त कुनै नाम छैन । नेपाली फिल्म उद्योगलाई चिनाउने हो भने कलात्मक रुपमा उपलब्धिमूलक फिल्म बनाउनुपर्याे । उद्योगलाई प्रतिष्ठित बनाउने र पहिचान दिलाउने नामले होइन, फिल्मले हो ।

प्रकाशित मिति १८ जेष्ठ २०७५, शुक्रबार ०८:३४