लकडाउनबीच आयो सन्तोष र मीनाको शिरमा फूल…

काठमाडौं । लकडाउनको बीच पनि श्रोता र दर्शकको संगीत मोहलाई मध्यनजर राख्दै गायिका मीना कार्कीले आफ्नो नयाँ गीत ‘शिरमा फूल…’को भिडियो रिलिज गरेकी छन् । उनले यो गीतको भिडियोलाई युट्युब च्यानलबाट रिलिज गरेकी हुन् ।
‘लकडाउनका कारण घरमै बसिरहनुपर्दा पछिल्लो समय मानिस धेरै निराश भएका छन् । उनीहरूलाई ऊर्जा र आशा जगाउनका लागि मैले यो रोमाञ्चकारी भावको भिडियो ल्याएकी हुँ,’ गायिका कार्कीले भनिन् ।

उनको यो गीतलाई प्रकाश केसीले लेखेका हुन् । जसमा सन्तोष श्रेष्ठको संगीत रहेको छ । देवेन्द्र नेवाःको एरेन्ज रहेको छ । आफ्नो यो गीत आधुनिक गायिका कार्की र संगीतकार श्रेष्ठको गीतिसंग्रह ‘सदीक्षा’मा रहेको छ । ‘अहिले कोरोना संक्रमणका कारण गीतिसंग्रह सदीक्षालाई सर्वजनिक गर्न सकेका छैनौं । सहज वातावरणमा सदीक्षा एल्बम एक औपचारिक कार्यक्रमबीच सार्वजनिक गर्ने हाम्रो योजना छ,’ संगीतकार श्रेष्ठले राजधानीसँग भने । गीत निकै राम्रो बनेकाले लकडानबीच पनि भिडियो ल्याएको उनले बताए ।

यो गीतको भिडियो पनि आकर्षक बनेको छ । भिडियोमा समीक्षा पोखरेल र कैलाश कठायतले अभिनय गरेका छन् । यो गीतको भिडियोलाई सन्तोष राजवहाकले निर्देशन गरेका हुन् । गीतको भिडियोमा उत्सव दाहालको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

प्रकाशित मिति ३२ जेष्ठ २०७७, आईतवार ०२:३९