रुकुम घटनामा घाइते तिन जना साथीको बयान  :

काठमाडौं । जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक १० जेठमा रुकुम पश्चिमको चौरजहारी पुगेका थिए । प्रेमिकालाई लिन १९ जना साथीहरुलाई लिएर गएका उनी फर्किएर घर पुग्न सकेनन् ।

युवतीको घरमा पुग्नेवित्तिकै आमाले ‘डुम’ भनेर गाली गरेपछि फर्किएका उनीसहितको समूहलाई गाउँलेले चार किलोमिटरसम्म लखेटे । परिवार, वडाध्यक्ष डम्बरबहादुर मल्लसहितले औल जिउलामा पुगेर नवराजसहित उनका ६ जना साथी गणेश विक, सन्दिप विक, लोकेन्द्र सुनार, टीकाराम सुनार र गोविन्द शाहीको हत्या गरे ।

घटनालाई प्रहरी अधिकृतहरुले ‘क्रुर र अमानवीय ढंगले गरिएको हत्या’ भनेका छन् । घटनामा नदीमा पौडिएर पारि पुगेका केही बाँच्न सफल भए । भंगालोमा अड्किएका कतिपय प्रहरी आइपुगेपछि जोगिए ।

घाइते मध्येका एक मदन शाहीले प्रहरीलाई बयान दिँदै भनेका छन्, ‘प्रहरी आइसकेपछि मात्र मलाई कुटपिट गर्न छाडेका हुन् । यदि प्रहरी नआएका भए, मलाई पनि भेरीमा बगाउने थिए ।’

‘गाउँलेले लखेटी–लखेटी लाठी, हसिया र ढुंगा समेतले प्रहार गरे’, अर्का घाइते महेश कार्कीले भनेका छन् । चिच्याउँदै रोइकराइ गरेर नपिट्न भन्दा पनि कसैले कुटपिट गर्न नरोकेको घाइतेहरुको बयान छ ।

प्रहरीले घटनाको अनुसन्धानका क्रममा घाइतेहरुसँग लामो बयान लिएको छ । त्यसैको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौंः–

महेश कार्की

नबराज विकले मलाई फोन गरी केटी भगाउन जानलाई जाजरकोट खलंगा बोलाएका थिए । म स्यालाबाट थाप्ले गएँ । त्यहाँ विभाग पुनसँग भेट भयो । दुवै जना नवराजलाई पर्खेर बसेका थियौं । खलंगाबाट आएका नवराज विकसमेतका साथीहरुसँग भेट भयो ।

धल्ला पुल पारी पुगेपछि मटेला र कुदुबाट आएका साथीहरूसँग भेट भएर केटी भगाउन भनेर चौरजहारीको सोती गाउँमा गयौं । युवतीको घरभन्दा तल रहेको ढुंगा खानीमा पुगेको बेला बुबा र दाइ काम गरिरहेका रहेछन् । नवराज विकलाई देखेर चिनेपछि अलि पर गएर दाइले कसलाई हो फोन गरिरहेका थिए ।

हामीहरू युवतीको घरतिरको बाटो भएर हिँडिरहेका बेला युवतीकी आमाले नवराजलाई देखेपछि ‘तँ डुमलाई पहिलाको चोटले पुगेन, अब बाँचेर जाँदैनस्’ भनि जातीय विभेद राखी गाली गलौज गर्नुभयो । हामीहरू काफल खान आएका हौं, त्यस्तो नसोच्नुहोस् भन्दा पनि गाली गलौज गरिरहनु भयो । हामी आफ्नो घरतर्फ फर्कने भनी आफ्नो बाटो हिँडिरह्यौं ।

अलि पर पुगेपछि सोही गाउँका मान बहादुर मल्लले बस, पानी खाएर जाउँला भनि भुलाउँदै धेरै कर गर्नु भयो तर हामीहरूले नाई अंकल बस्दैनौं भनेर मध्य पहाडी लोकमार्गको सडकदेखि माथि भएको ठूलो ढुंगामा पुगेर थकाइ मारिरहेका थियौं ।

त्यतिबेला माथिबाट रोक–रोक भन्दै ठूलो संख्यामा आएका डम्बरबहादुर मल्ल समेतका व्यक्तिहरूले ढुंगा मुडा गर्न थाले । त्यसपछि ज्यान बचाउन मध्य पहाडी लोकमार्गको बाटो हुँदै कालेगाउँ जाजरकोट जाने पुल बाटोतिर दौडिन थाल्यौं ।

त्यसबीचमा अन्य थुप्रै मान्छेहरु हामीभन्दा अगाडि मोटरसाइकल समेतमा आएर कालेगाउँतर्फ जाने बाटो घेरा हाले । हात–हातमा लाठी, हँसिया र ढुंगा समेतले प्रहार गर्दै लखेट्न थाले ।

पछि मलाई सोही सडक स्थानमा प्रतिवादीहरु डम्बरबहादुर मल्ल, मान बहादुर मल्ल र लिपेन्द्रकुमार मल्ल समेतका व्यक्तिहरुले समाई लाठी ढुंगा समेतले कुटपिट गरी मेरो ढाड, हात र खुट्टामा हानेर घाइते बनाएर नियन्त्रणमा लिएका हुन् ।

अन्य साथीहरुलाई थुप्रै व्यक्तिहरुले लखेट्दै ढुङ्गा मुढा समेतले अन्धाधुन्द प्रहार गर्दै भेरी नदीको बीच बगरमा लगेर कुटपिट गरिरहेका थिए । मसँगै आएका साथी डिल्ली विकलाई अन्य व्यक्तिहरुले सडक मुनि नदीको छेउमा फेला पारी कुटपिट गर्दै सडक बाटोतर्फ धकेल्दै तान्दै ल्याइरहेका थिए ।

नदीको बीच बगरमा रहेका साथीहरुले बचाउ–बचाउ भन्दै चिच्याउँदै रोइ कराइ गरिरहेका थिए । केही समयपछि प्रहरी आएपछि मात्र म समेतलाई डम्बर बहादुर मल्ल समेतका प्रतिवादीहरुले कुटपिट गर्न छोडेका हुन् ।

मदन शाही

नवराज र युवतीबीच एक वर्ष अगडिदेखि प्रेम सम्बन्ध भएको कुरा थाहा पाएको थिएँ । घटनाको तीन दिन अघि मैले केटी भगाउँदै छु मलाई साथ सहयोग गर्नु पर्छ भनेका थिए ।

सोही अनुसार १० गते चौरजहारीमा रहेको युवतीको घरमा पुग्यौं । घरमा गाली गरेपछि फर्किँदा धेरै मानिसहरुले एक्कासी माथिबाट रोक–रोक भन्दै हातमा ढुङ्गा, मुढा, लाठी, दाउरा र हँसिया समेतका घरेलु हातहतियार समातेर हामीलाई घेरा हाल्न थाले ।

हामीलाई प्रहार गर्न थालेपछि म समेतले आफ्नो ज्यान जोगाउन पहिला गएको बाटो हुँदै आफ्नो घरतर्फ दौड्दै फर्कने क्रममा मध्य पहाडी लोक मार्ग सडकमा झरी जाजरकोट कालेगाउँ जोड्ने झोलुंङगे पुल तर्फ जानै लाग्दा पुल नजिक अन्य प्रतिवादीहरुले हामीहरुलाई छेकेका थिए ।

घेरा हालेर ढुङ्गा, मुढा समेत प्रहार गर्न लागे र पछाडिबाट समेत अन्य व्यक्तिहरुले लखेट्दै आएको कारण हाम्रो अन्तिम विकल्प भेरी नदीतर्फ जाने मात्र रह्यो । भेरी नदीतर्फ बाहेक चारैतर्फबाट घेरा हालेको र केही प्रतिबादी नजिकै आई ढुङ्गा मुढा समेतले प्रहार गर्न लाग्दा निजहरुले प्रहार गरेको ढुङ्गा मुढा केही साथीहरुलाई लागिसकेको थियो ।

हामी भाग्दै भेरी नदीको सानो भंगालो तरेर ठूलो भंगालोको छेउमा पुग्दा भेरी नदीको ठूलो भंगालोमा रहेको पानीको अत्याधिक वहावले सोही स्थानमा अड्किएको अवस्थामा प्रतिवादीहरु लगायतका व्यक्तिहरूले ढुंगा, मुढा, लाठी घरेलु हतियार हँसिया हातमा लिएर हामीहरु अड्किएको स्थान समेतमा आई अन्धाधुन्द प्रहार गरिरहेका थिए ।

त्यसबेला मसँगै गएका साथीमध्ये नवराज, सन्जु भन्ने संजीव वि.क., गोविन्द शाही, लोकेन्द्र सुनार, गणेश बुढामगर र टिकाराम नेपालीलाई प्रतिवादीहरुले निर्घात रुपमा कुटपिट गरी मारेर भेरी नदीमा बगाए । म समेतलाई कुटपिट गर्न नछोडेपछि बाध्य भइ ज्यान बचाउनको लागि मसहित भोला बिटालु (बि.सी.), बिभाग पुन, लाल बहादुर खड्का र सरोज भडेल भेरी नदीको जंगारमा हाम फाली नदी पार गर्न खोज्यौं ।

तर, त्यसक्रममा समेत प्रतिवादीहरुले प्रहार गरेका ढुङ्गा छल्दै बल्ल तल्ल सरोज भडेल र भोला बिटालु (बि.सी.) सँगसँगै नदी पार गरेँ । तर, नदीको छेउमा पुग्ने बित्तिकै पनि कताबाट गाउँलेहरु आएर कुटपिट गर्न थाले ।

मसहित बिभाग पुन, लाल बहादुर खड्का डरले भेरी नदीको ठूलो भंगालोको पश्चिम सानो टापुमा रोकिएर बसेको अवस्थामा प्रतिवादीहरुले त्यहीँ आएर मारेर भेरीमा बगाइदिन्छु भने । त्यसपछि मसहित ३ जना साथीहरु भेरी पारी बगरमा जाँदा मोहन पुन समेत आइ कुटपिट गरिरहे ।

केही समयपछि जाजरकोटको प्रहरी आइसकेपछि पहिला नदी तरेर गएका २ जना साथीहरु र म समेतलाई कुटपिट गर्न छोडेका हुन् । यदि प्रहरी नआएको भए मसमेतलाई पनि कुटपिट गरेर भेरी नदीमा बगाउने थिए । भाग्यले प्रहरी आएकोले मेरो ज्यान जोगिएको हो ।

सुदिप खड्का

बाटोमा छेकेपछि हामीतिर दौडिँदै यिनीहरुलाई मार्नु पर्छ भन्दै गाउँलेहरु आए । हामी ज्यान जोगाउन भाग्यौं ।

जाजरकोट कालेगाउँ जोड्ने झोलुङ्गे पुलतर्फ जान खोज्दा त्यहीँ पनि बाटो छेकेर जान दिएनन् । भाग्दै भेरी नदीको किनारको बगर हुँदै पहिलो भंगालो (घुँडासम्म पानी भएको) भएको स्थानमा जाँदा लखेट्दै आएका वडाध्यक्ष डम्बर बहादुर मल्ल समेतले हामीमाथि ढुंगा, मुढा बर्साउन छोडेनन् ।

भेरी नदीको अर्को ठूलो भंगालोको छेउमा पुग्दा भेरी नदीको पानीको वहाव बढी भएको देखेर सोही भंगालोको छेउमा म समेतका साथीहरु अड्किएका थियौं । त्यतिबेला केही गाउँलेले भित्तो बगर आसपासमा नवराजहरुलाई निर्घात कुटपिट गरिरहका थिए ।

हामीलाई नपिट्नुहोस् भनेर अनुरोध गर्दा पनि नरोकिएपछि ज्यान जोगाउन भोला बिटालु (बि.सी.), विभाग पुन, सरोज भडेल, मदन शाही र लाल बहादुर खड्काले नदीमा हाम फालेका थिए । तर, मैले हाम फाल्न सकिनँ । त्यस अवस्थामा नदीमा हामफालेका ५ जना साथीहरुलाई गाउँलेले ढुंगा प्रहार गरिरहेका थिए । ती साथीहरु ज्यान जोगाई नदी पारी पनि पुगे ।

तर, मोहन पुन मगर लगायतले नदी तरेर पनि साथीहरुलाई कुटपिट गरिरहेका थिए । नदी पार गर्न नसकेका म समेतलाई गाउँलेले ज्यानै मार्ने मनसायले कुटपिट गरिरहेको अवस्थामा चौरजहारीबाट प्रहरी आएपछि मात्र कुटपिट गर्न छोडेका हुन् ।

लालबहादुर खड्का

हामीलाई ढुंगा, लाठी र हँसियाले हान्न थालेपछि हातपाउ जोडेर अनुनय विनय गर्दै रुँदै कराउँदै गर्न थालेँ । तर, नछाडेपछि ५ जना साथीहरुले नदीमा हाम फाल्यौं ।

नदीमा म समेतलाई गाउँलेले ढुंगामुढा प्रहार गरिरहेका थिए । उनीहरुले हानेको ढुंगा छल्दै पानीमा टाउको डुबाउँदै निकाल्दै सास फेर्दै बल्लतल्ल हामी ५ जनामध्ये २ जना सरोज भडेल र भोला बिटालु (बिसी) पहिला नदी पार गर्न सफल भए ।

पारि पुग्ने वित्तिकै कताबाट केही गाउँले त्यहाँ पुगिसकेका रहेछन्, हामीलाई पनि कुटपिट गर्न थाले ।

साभार–अनलाईन खवरवाट

प्रकाशित मिति ३ असार २०७७, बुधबार ०२:१५