प्रधानमन्त्री रोजगार कार्यक्रम : बेरोजगारलाई गाउँमै काम र दाम

पर्वत । पर्वतको फलेवास नगरपालिका–३ पुर्कोटका पूर्णबहादुर परियार लामो लकडाउनले समस्यामा थिए । दिनभरि काम गरी बेलुकाको छाक टार्नुपर्ने बाध्यता भएका उनी लकडाउन कारण निकै निराश थिए । तर, पछिल्लो एक सातादेखि उनले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारीमा जोडिने मौका पाएका छन् ।

‘दिनभरि घरमै बस्नुपर्दा परिवारको हातमुख जोर्ने उपाय नपाएर रन्थनिएको थिएँ,’ परियारले भने, ‘केही दिनलाई भए पनि काम पाउँदा खुशी लागेको छ ।’ उनी अहिले चाविल पुर्कोट सडक मर्मतको काममा संलग्न छन् । २५ दिन काम गरेबापत उनले दैनिक ७५० रुपैयाँँ पाउनेछन् ।

परियार जस्तै सोही नगरपालिका–८ ठानामौलाका नारायण पौडेल पनि बेरोजगार नै थिए । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट भने उनले राहत महसूस गरेका छन् । उनी अहिले नेपाने कमारे पदमार्ग निर्माणमा खटिएका छन् । फलेवास नगरपालिकाले शुरू गरेको कामका लागि पारिश्रमिकमा आधारित आयोजनामा आबद्ध भएर गाउँका बेरोजगार युवाले आशिंक रोजगारी पाएका छन् । ‘आम्दानीको अन्य कुनै स्रोत थिएन,’ पौडेलले भने, ‘आशिंक रोजगारी नै भए पनि जीविका चलाउन केही सहज हुने ठानेको छु ।’ रोजगारी पाएकाहरूलाई लकडाउनले पारेको आर्थिक समस्या पनि केही हदसम्म समाधान हुने भएको छ । नगरपालिकाले पदमार्ग निर्माण, पोखरी निर्माण, सडक स्तरोन्नति तथा मर्मत सम्भार जस्ता कार्यक्रममा गाउँका बेरोजगारलाई रोजगारी दिएको हो । ११ ओटा वडा रहेको नगरपालिकाले प्रत्येक वडामा कम्तीमा ५ जना पर्नेगरी रोजगार कार्यक्रममा १९५ जनालाई समावेश गरेको रोजगार संयोजक शिवबहादुर क्षेत्रीले जानकारी दिए ।

तीमध्ये ३५ महिला र १६० जना पुरुष छन् । दक्ष कामदारले दैनिक १ हजार २५ र अदक्षले ७५० रुपैयाँ पारिश्रमिक पाउने क्षेत्रीले बताए । ‘आशिंक रोजगारी दिएसँगै नगरका अधुरा कामले पनि गति लिएको छ,’ उनले भने, ‘कार्यक्रमबारे गतवर्ष धेरै गुनासा आएका थिए, तर यस वर्ष गुनासो नआउने गरी काम अघि बढाइएको छ ।’ उनका अनुसार वडा नं १, २, ७, ८, ९, १० र ११ मा पदमार्ग निर्माण भइरहेको छ भने वडा नं ३, ५ र ६ मा सडक मर्मत र सोलिङ निर्माण हुँदै छ ।’ कार्यक्रम कार्यान्वयनका लागि संघीय सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ४५ लाख ६१ हजार बजेट विनियोजन गरेको छ । कार्यक्रम असार मसान्तसम्म सञ्चालन हुने फलेवास नगरपालिकाले जानकारी दिएको छ ।साभार–आर्थिक अभियानवाट

प्रकाशित मिति ५ असार २०७७, शुक्रबार ०४:१७