कक्षा ११ को परीक्षा विद्यालयबाटै

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले लिँदै आएको कक्षा ११ को परीक्षा अब विद्यालयले नै सञ्चालन गर्ने भएका छन् । परीक्षा सञ्चालन गरेर विद्यालयले नै प्रमाणपत्र जारी गर्ने व्यवस्था गरिएको हो । यो वर्ष बोर्ड परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई भने आन्तरिक मूल्यांकनकै आधारमा प्रमाणपत्र दिने निर्णय भइसकेको छ ।

बोर्डले कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन र नतिजा प्रकाशनका लागि बिहीबार कार्यविधि जारी गरेको छ । राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषद्ले असार १९ गते परीक्षा सञ्चालन र प्रमाणीकरणको जिम्मा विद्यालयलाई दिने निर्णय गरेको थियो । यसअघि कक्षा ११ को लिखित परीक्षा बोर्ड र प्रयोगात्मक परीक्षा विद्यालयले सञ्चालन गरेर बोर्डले प्रमाणपत्र जारी गर्थ्यो ।

कक्षा ११ मा भर्ना भएर ७० प्रतिशत हाजिरी भएका विद्यार्थी विद्यालयले सञ्चालन गर्ने परीक्षामा सहभागी हुन पाउनेछन् । उनीहरूको रजिस्ट्रेसन भने बोर्डमा भराउनुपर्नेछ । परीक्षा सञ्चालन, नतिजा प्रकाशन र प्रमाणीकरणका लागि प्रधानाध्यापकको संयोजकत्वमा समिति रहनेछ । कक्षा शिक्षक र प्रअले मनोनीत गरेका एक विषय शिक्षकसहित तीन सदस्यीय परीक्षा तथा प्रमाणीकरण समिति रहने कार्यविधिमा उल्लेख छ । परिषद्को निर्णयअनुसार कक्षा ११ को परीक्षा सञ्चालनको मूल्यांकनको जिम्मा विद्यालयलाई दिएको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जनाए ।

परीक्षा समितिलाई प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन र उत्तरकुञ्जिका निर्माणसमेतको अधिकार दिइएको छ ।

प्रकाशित मिति ९ श्रावण २०७७, शुक्रबार ०६:००