यि नेता मास्क बिना घरघरै डुल्दै, सरकारको अनुरोध सरकारकै प्रतिनिधीद्धारा उलंघन

१७ साउन, पर्वत । कोरोना संक्रमण फैलिरहेको छ । संक्रमण फैलिन नदिन सरकारले मास्क अनिवार्य लगाउन भनेको छ । पर्वतको कुश्मामा सर्वसाधारणलाई मास्क लगाउन प्रहरीले अनुरोध गर्दै आएको छ । मास्क नलगाए सडकमै रोकेर प्रशिक्षण दिन्छ । अनुरोध गर्दा पनि नमाने सार्वजनिक कारवाही गर्ने प्रहरीले भन्दै आएको छ । तर, साना लाई ऐन ठुलालाई चैन भन्ने नेपाली उखानलाई चरितार्थ हुने गरि नेकपा पर्वतका नेताहरु भने मुखमा मास्क नलगाई गाउँ गाउँ र घरघरै डुलेका छन् । शुक्रवार ज्ञादी, शंकरपोखरी हुँदै भंगारासम्म पुगेको प्रतिनिधीसभाका साँसद पदम गिरी सहितको टोलीमा कसैले पनि मास्क लगाएका थिएनन् । फलेवास नगरपालिकाका मेयर पदमपाणी शर्मा पनि टोलीमा सहभागी भएका थिए । यूवा संघका पदाधिकारी सहित नगरपालिकाका कर्मचारी र नेता कार्यकर्ताहरुको लर्को गाउँ गाउँ पुग्दा कसैको मुखमा मास्क थिएन ।
सर्वसाधारणलाई मास्क लगाउन र कोरोना संक्रमण बाट समूदायलाई सुरक्षित राख्न अनुरोध गर्नुपर्ने व्याक्तिहरु स्वास्थ्य सुरक्षा प्रति संबेदशिल नदेखिएको स्वास्थ्यकर्मीहरु बताउँछन् । समूहमा हिँड्दा, भीडभाडमा सहभागी हुँदा र समूहमा बोलचाल गर्दा अनिवार्य मास्क लगाउनुपर्ने हो । तर, नेकपाका नेताले भने आफुहरु कोरोना संग नसर्न सम्झौता गरेझैँ निर्वाध गाउँ गाउँ र घरघरै डुलेर जोखिम बढाएका छन् ।
भंगाराका सर्वासाधारणले साँसद, मेयर देखि नेकपाका कार्यकर्ता स्वास्थ्य सुरक्षा बिनै घरघरै डुलेपछि असन्तुष्टि जनाएका छन् । उनीहरुले मास्क बिनै नेताहरु घरघरै आएर जोखिम बढाएको बताएका छन् । कार्यकर्ता भेटघाटका नाममा गाउँ छिरेका नेताले कोरोना त्यसको जिम्मा कस्ले लिने भनेर प्रतिप्रश्न गरेका छन् ।
कुश्माबजारमा प्रहरीले पाईलै पाईलामा मास्क लगाउन सर्वसाधारणलाई सम्झाईरहँदा गाउँमा पुगेका नेताहरु भने मास्कबिनै डुलेपछि प्रहरीको अनुरोधलाई खिल्ली उडाएको ठहर भएको छ । साँसद पदम गिरी र स्थानीय सरकारका प्रमुख पदमपाणी शर्माले नै सरकारको अनुरोध उलंघन गरेपछि सर्वसाधारणहरुले किन मास्क लगाएर सरकारको अनुरोध पालना गर्ने भन्ने नैतिक प्रश्न खडा भएको छ । सार्वजनिक स्थानमा हिँडडुल गर्दा जनप्रतिनिधीले गरेको लापरवाहीले कोरोना संक्रमण फैलिएको भन्दै प्रतिनिधीसभा र राष्ट्रियसभाका सदस्यले पनि प्रश्न गर्दै आएका छन् । तर पर्वतका साँसद गिरी भने मास्क समेत नलगाई हुलका हुल मान्छे बोकेर गाउँ गाउँ डुल्दै आएपछि जिल्लावासीहरुले आलोचना गरेका छन् ।

प्रकाशित मिति १७ श्रावण २०७७, शनिबार ००:५१