डाइरेक्टर्स् कट, डबल, एक्जेक्युटिभ प्राेड्युसर, प्राेडक्ट प्लेसमेन्ट

डाइरेक्टर्स् कटः स्टुडियो वा फिल्म कम्पनीको बिना हस्तक्षेप निर्देशकले तयार पारेको फिल्मको रफ कट । यसलाई निर्देशकको संस्करण भन्न मिल्छ । हलिउडमा डाइरेक्टर्स् कट रिलिज गरिँदैन । पछि स्टुडियो वा निर्माण कम्पनीका पदाधिकारीहरुको पहलमा तयार पारिएको संस्करण चाहिँ रिलिज गरिन्छ, जसलाई फाइनल कट भनिन्छ । फाइनल कट हलमा रिलिज भएको केही वर्षपछि फिल्मले राम्रो चर्चा कमायो भने डाइरेक्टर्स् कटलाई डिभिडीमा रिलिज गरिने चलन पनि छ ।

डबलः अप्ठ्यारो र खतरानक दृश्य लिने बेला हिरो वा हिरोइन आफैंले सट दिँदैनन् । त्योबेला पछाडिबाट र टाढाबाट हेर्दा दुरुस्त देखिने अरु व्यक्तिलाई प्रयोग गरिन्छ । उक्त व्यक्तिलाई डबल भनिन्छ । कहिलेकाहीँ मुख्य कलाकार व्यस्त भएको बेला डबललाई उभ्याइएर पनि फिल्मको बाँकी काम सिध्याइने गरिन्छ । नग्न दृश्यमा हिरोइनहरुले डबलको प्रयोग गर्न लगाउँछन् ।

एक्जेक्युटिभ प्रोड्युसरः फिल्मको निर्माण प्रक्रियामा लगभग सिइओको जस्तै भूमिका निर्वाह गर्ने व्यक्ति । एक्जेक्युटिभ प्रोड्युसरले पनि कहिलेकाहीँ फिल्ममा पैसा हाल्न सक्छ । उसको काम फिल्मका लागि टिम बनाउने हो । निर्देशक, कलाकार तथा अरु निर्मातालाई पनि उसैले खोज्छ । उसले एकैचोटि एकभन्दा बढी फिल्मको काम हेर्न सक्छ । ऊ फिल्मको सुटिङमा जानैपर्छ भन्ने छैन ।

प्रोडक्ट प्लेसमेन्टः पछिल्लो समय नेपाली फिल्ममा यसको प्रचलन बढिरहेको छ । फिल्मभित्र पात्रले प्रयोग गर्ने कुनै खाद्यपदार्थ, सवारी साधन, निर्माण सामग्री वा लुगा कुनै ब्रान्डको प्रयोग गरिनुलाई प्रोडक्ट प्लेसमेन्ट भनिन्छ । प्रोडक्टका उत्पादक वा स्थानीय विक्रेताबाट निश्चित शुल्क लिएर यस्तो गरिन्छ । र, फिल्म निर्माताका लागि नयाँ आर्थिक स्रोत बनिरहेको छ यो ।

 

प्रकाशित मिति १५ जेष्ठ २०७५, मंगलवार ०४:२३