‘पठान’ मा शाहरुख र जोन

भदौ २९, काठमाडौँ ।अभिनेता शाहरुख खान लामो समयपछि पर्दामा फर्किँदैछन् । निकै आश गरेको फिल्म ‘जिरो’ ले बक्सअफिसमा खराब प्रदर्शन गरेपछि निराश भएका उनी अब एक्सन फिल्म ‘पठान’ मा देखिने भएका छन् । यशराज फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा अभिनेता जोन अब्राहम पनि हुनेछन् । यो फिल्मको घोषणा अर्को महिना यशराज फिल्म्सको ५०औं एनिभर्सरीमा गरिनेछ ।

यो फिल्मको सिद्धार्थ आनन्दले निर्देशन गर्दैछन् । उनले पछिल्लो पटक फिल्म ‘वार’ निर्देशन गरेका थिए । केही दिनयता ‘पठान’ मा शाहरुख खान र दीपिका पादुकोणले फेरि एकसाथ काम गर्न लागेको चर्चा चलेको छ । तर, अहिलेसम्म दीपिकाले भने फिल्म साइन नगरेको भारतीय मिडियाले बताएका छन् । यद्यपि, उनी फिल्मको स्क्रिप्ट र आफ्नो भूमिकालाई लिएर सकारात्मक छिन् ।

यशराज फिल्म्स अहिले फिल्मको प्रि(प्रोडक्सनको काममा व्यस्त छ । शाहरुख खानले अर्को वर्षको जनवरीबाट फिल्मको छायांकन सुरु गर्नेछन् । त्यस्तै, जोनले पहिला आफ्नो नयाँ फिल्म ‘सत्यमेव जयते २’ को छायांकन पूरा गर्नेछन् र मार्चबाट ‘पठान’ का लागि समय निकाल्नेछन् । पहिलो पटक यी दुई अभिनेतालाई एकसाथ पर्दामा हेर्न दर्शकलाई निकै रोचक हुने देखिन्छ ।

प्रकाशित मिति २९ भाद्र २०७७, सोमबार ०७:५६