रक्सी खान नदिएको रिसमा बाबुले गरे छोराको हत्या

भदौ ३०, काठमाडौँ । पर्साको पोखरिया नगरपालिकाका ७० वर्षीय लक्ष्मी साह रक्सीको कुलतमा फसिसकेका थिए । छोरा ३५ वर्षीय मधो साह भने बुवाको रक्सीको लत छुटाउन चाहन्थे । सम्झाउँदा नमानेपछि गाउँका पसलवालाई बुबालाई रक्सी नदिन आग्रहसमेत गर्थे । कतिपयले उनको आग्रहलाई मान्दै लक्ष्मीलाई रक्सी दिन बन्द पनि गरिदिए ।

लक्ष्मीलाई यो कुरा पटक्कै मन परिरहेको थिएन । आफूले रक्सी सहजै नपाएको झोंकमा उनले छोराको हत्या गरे ।

घटना हो भदौ २९ गतेको । त्यो दिन पनि लक्ष्मी रक्सीले मातिएर घर आए । साँझ घर आइपुगेका उनलाई छोराले किन रक्सी पिएको भनेर कराउँदै थिए । बाबु–छोराबीच विवाद बढ्यो । लक्ष्मीले आफ्नो साथमै बोकेर हिँडेको चक्कु छोरामाथि प्रहार गरे ।

साँझ सवा सात बजे भएको यो घटनामा छोरा मधो गम्भिर घाइते भए । नेशनल मेडिकल कलेजमा उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै उनको मृत्यु भयो ।

चक्कु प्रहार गर्ने लक्ष्मी साहलाई नियन्त्रणमा लिएर आवश्यक अुनसन्धान र कारबाही प्रक्रिया शुरु गरिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा पनि रक्सी पिउने विषयमा नै बाबु–छोराबीच मतभेद थियो ।सभार–अनलाईन खवरवाट

प्रकाशित मिति ३० भाद्र २०७७, मंगलवार ०५:५२