अर्को व्यवस्था नभएसम्म सरकारका प्रवक्तामा परराष्ट्रमन्त्री ज्ञवाली

भदौ ३०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रवक्ताको जिम्मेवारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई दिएका छन् । सूचना तथा सञ्चार प्रविधिमन्त्री नियुक्त नभएसम्मका लागि प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई दिइएको हो ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मन्त्री ज्ञवालीलाई मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने जिम्मेवारी तोकिएको हो ।

अर्थ एवं सूचना तथा सञ्चार प्रविधिमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता युवराज खतिवडाले राजीनामा दिएपछिका मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरिएका थिएनन् । खतिवडाले सम्हाल्दै आएका मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हालिरहेका छन् ।

तत्कालीन सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको बार्गेनिङ गरिरहेको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका थिए । त्यसपछि उक्त मन्त्रालय र प्रवक्ताको जिम्मेवारी खतिवडालाई दिइएको थियो । साभार–कान्तिपुर दैनिकवाट

प्रकाशित मिति ३० भाद्र २०७७, मंगलवार ०६:४७