सरकारको विशेष आर्थिक सल्लाहकारमा खतिवडा नियुक्त, मन्त्रीसरह सुविधा

भदौ ३०, काठमाडौँ । सरकारले पूर्वअर्थमन्त्री युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वअर्थमन्त्री खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मंगलबार सञ्चार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता ज्ञवालीले खतिवडालाई मन्त्रीसरह सुविधा पाउने गरी आर्थिक सल्लाहकार नियुक्त गरिएको जानकारी दिएका हुन् ।

राष्ट्रियसभा सदस्य कार्यकाल भदौ २० मा सकिनुअघि नै खतिवडाले भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । उनको ठाउँमा सरकारले वामदेव गौतमलाई मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिससमेत गरिसकेको छ ।

प्रकाशित मिति ३० भाद्र २०७७, मंगलवार १४:२६