विपी प्रतिष्ठानका तत्कालीन उपकुलपतिविरुद्ध भ्रष्टाचार मुद्दा दायर

भदौ ३१, काठमाडौँ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्राडा बलभद्रप्रसाद दासविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

पूर्वउपकुलति दासले गैरकानुनीरुपमा अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । अख्तियारले डा दासले ७ करोड ७१ लाख ९२ हजार ८ सय ६० रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोपसहित विगो भर्न माग गरी मुद्दा दायर गरेको हो ।

पूर्वउपकुपति दास प्रतिष्ठानको विभिन्न सार्वजनिक पदमा बहाल रहँदा पदको दुरुपयोग गरी गैरकानुनी रुपमा अकुत सम्पत्ति कमाएको देखिएको अख्तियारले जनाएको छ । फर्माकोलोजिस्ट डा।दासले ०५० सालमा हाउस अफिसरमा नियुक्त भएर प्रतिष्ठानमा प्रवेश गरेका थिए । त्यसपछि उनी प्रतिष्ठानको अस्पताल निर्देशक हुँदै २०६८ सालमा उपकुलपति भएका थिए । उनी प्राध्यापक पदमा प्रतिष्ठानमै कार्यरत छन् ।

अख्तियारले बिशेष अदालतमा यो दोस्रो पटक मुद्दा दायर गरेको हो । यसअघि उनीसहित अन्य पूर्वपदाधिकारीहरुलाई विभिन्न सामग्री खरिदमा प्रतिष्ठानलाई नोक्सानी हुने गरी मिलेमतो गरेको भन्दै भ्रष्टचार मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति ३१ भाद्र २०७७, बुधबार ००:२२