रामराजा र राष्ट्रियता

काठमाडौँ– अहिले पनि तराई-मधेसमा केही विखण्डनवादी समूह छन्। एक दशक पहिले त च्याउ झैं उम्रेका थिए। त्यतिबेला केही नाम चलेका समूहले पटनामा एउटा गोप्य बैठकको आयोजना गरेको थियो। बैठकमा रामराजाप्रसाद सिंहलाई पनि आमन्त्रण गरिएको थियो। मूलतः त्यो गोप्य तथा खतरनाक कार्यक्रमको उद्देश्य रामराजाप्रसाद सिंहले तराई-मधेसमा रहेका सम्पूर्ण सशस्त्र समूहरूको नेतृत्व लिइदिए हुन्थ्यो भन्ने दबाब सिर्जना गर्न आयोजना गरिएको थियो। तर त्यस प्रकारको नेतृत्वलाई उनले ठाडै अस्वीकार गरे। यसले सशस्त्र समूहका नेताहरू किंकर्तव्यविमूढ भएका थिए। पछि छिनभिन्न पनि भए। यो घटनालाई रामराजाप्रसाद सिंहले आफैं सार्वजनिक गरे। यसबाट उनीप्रति केहीमा रहेको आशंका पनि दूर भएको हुनुपर्छ। अस्ति भदौ २७ गते उनको आठौं स्मृति दिवस थियो। मेरो सम्पादनमा तीन दशकपछि पुनः विराटनगरबाट प्रकाशन हुन थालेको मैथिली मासिक मिथिला टाइम्सको रामराजाप्रसाद विशेष अंकबाहेक त्यस्तो कुनै खासै कार्यक्रमको आयोजना यसपालि गरिएको देखिएन।

कोरोना कहरले प्रभावित पार्‍यो। रामराजाप्रसाद विचार, विद्वता र विविधताको एउटा यस्तो संगम हुनुहुन्थ्यो, जसको प्रचुर भण्डारण उनीमा थिए। अंग्रेजी साहित्य र कानुनमा मात्र होइन, दर्शनशास्त्रदेखि समाज विज्ञानसम्ममा उनको बेजोडको दक्खल थियो। राजनीतिक विश्लेषक सीके लालको शब्दमा दर्शनशास्त्रको त उनी खानी नै थिए। तर उनको यो अथाह ज्ञानको सन्दर्भमा थोरैै मात्र चर्चापरिचर्चा हुने गर्छन्। स्वयं रामराजाप्रसाद स्मृति प्रतिष्ठान नै उनको अथाह विद्वताका सम्बन्धमा अनभिज्ञजस्तो देखिन्छ। त्यसैले आजसम्म प्रतिष्ठानले विषयगत रूपमा दक्खल रहेका उनको कुनै पनि विधामा बृहत् राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरको संगोष्ठी, छलफल तथा वादविवाद गराएको देखिन्न। दुई वर्षपछि प्रतिष्ठानले दसौं स्मृति दिवस धुमधामसँग मनाउने निर्णय गरेको छ। प्रतिष्ठानले यस प्रकारको सोचलाई विविधतामय बनाउनुपर्छ र सबैभन्दा बढी स्रोत र साधनको खर्च बौद्धिक अभ्यासमा गर्न सके त्यसले ढिलै भए पनि रामराजा बाबुका हकमा न्याय ठहरिने छ। यस कार्यका लागि प्रतिष्ठानले योजनाबद्ध रूपमा कामको प्रारम्भ थालिसक्नुपर्छ। तर आज यस आलेखमा रामराजाप्रसादको एउटा सशक्त विधा जसको कारण उनी बेलाकुबेला चर्चामा रहे त्यसलाई मैले खोतल्न प्रयास गरेको छु।

रामराजा, सुभाष बोस र बीपी

हामी सबैलाई थाहा हुनुपर्छ- भारतका क्रान्तिकारी नेता सुभाषचन्द्र बोस र महात्मा गान्धीको लक्ष्य समान भए पनि दुवैका बीचमा आधारभूत अन्तर थिए। त्यसैले धेरै दिनसम्म सुभाषबाबु भारतीय राष्ट्रिय कांग्रेसमा टिक्न सक्नुभएन र आफ्नो छुट्टै राजनीतिक पार्टीको गठन गर्न पुगे, जसको नाम थियो- फारवार्ड ब्लोक। उनले भारतलाई अंग्रेजको उपनिवेशबाट मुक्तिका खातेर सशस्त्र संघर्षको उद्घोष गरेका थिए। त्यसका लागि उनले दोस्रो विश्वयुद्धताका संसार घुमेर कोसँग के सहयोग प्राप्त गरे भन्ने कुराजस्तै रामराजाप्रसाद पनि नेपालमा गणतन्त्र स्थापनार्थ विश्वलाई चहारेको तथ्यगत इतिहास छ।

सुभाषबाबु त्यसबेलाका विश्वशक्ति जर्मनीका हिटलरलाई भेटेजस्तै रामराजाबाबुले विश्व क्रान्तिकारी नेता चे ग्वेवारासँग भेट्न बर्माको टापु पुगेका थिए। यस अर्थमा रामराजा बाबु र सुभाष बाबुबीच घनीभूत समानता पाइन्छ। सन् सत्तरीको दशकमा नेपालको राष्ट्रियता खतरामा रहेको भन्दै बीपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केका थिए भने राष्ट्र, राष्ट्रियता र प्रजातन्त्र जोगाउनु छ भने सामन्तवादका पृष्ठपोषक राजा र राजतन्त्रसँग कुममा कुम मिलाउनुभन्दा त्यसलाई समूल नष्ट नगरी नेपालीले वास्तविक अर्थमा राष्ट्रियता र प्रजातन्त्रको अनुभूति गर्न सक्दैनन् भन्ने सोच रामराजाप्रसाद सिंहमा रहेको देखिन्छ। साँचो कुरा त के हो भने एकताका गान्धी र सुभाष एक ठाउँमा रहेजस्तै बीपी र रामराजा पनि एकै घडाका पानी थिए। सेवन पनि सँगै गर्थे।

रामराजाको अठोट जसले माओवादीलाई रणनीतिक लक्ष्य प्राप्तिका लागि उत्प्रेरकको काम गर्‍यो। साथै माओवादीको संगठनात्मक शक्ति, कांग्रेसको लचकता र एमालेको बाध्यताले नौलो परिवेश उत्पादन गरेको हो।

२०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रको अपहरण गरेपछि त्यसबाट उन्मुक्ति पाउनलाई सुरुमा जेजति प्रयास भएका छन्, त्यसलाई अध्ययन गर्ने हो भने बीपी र रामराजाको भाष्यमा समानता पाइन्छ प्रारम्भमा गान्धी र सुभाषजस्तै। तर कालान्तरमा बीपी र रामराजा एकअर्काको समानान्तर रेलवे लाइनजस्तै सैद्धान्तिक रेखा कोरे, जो कहींकतै मिल्ने सम्भावना हुँदैन। यसले एकातिर नेपालको राष्ट्रियता, अखण्डता र सार्वभौमसत्ता राजमुकुटमा निहित छ भन्ने बीपीको मान्यतालाई रामराजाप्रसादको गणतान्त्रिक सोचले ठाडै चुनौती दिएको देखिन्छ। पछि पूर्णरूपमा खारेजसमेत गरे। कांग्रेसको संवैधानिक राजतन्त्रको सोच गलत हो र नेपालजस्तो भूराजनीतिक मुलुकमा त्यसले प्रजतन्त्रलाई कहिल्यै संस्थागत विकास हुन दिँदैन भन्ने कुरा रामराजा बाबुले पटनादेखि सिरहा र काठमाडौंसम्म मसँगको दर्जनौंपटकको भेंटमा दोहोर्‍याईतेहेर्‍याई भन्नुभएको अहिले मलाई भल्झली याद आइरहेको छ। कालान्तरमा रामराजा बाबुको यो सोच सहीसिद्ध भयो भन्ने कुरा कहींकतै लुकेको छैन।

 नेपालमा राजतन्त्र चाहे त्यो सक्रिय होस् वा संवैधानिक प्रजातन्त्रलाई त्यसले संस्थागत रूप धारण गर्न दिएनन् भन्ने कुरा दिउँसोको घामजत्तिकै छर्लंग छ। राजा महेन्द्रदेखि ज्ञानेन्द्रसम्मको कथाले यही व्यथाको भाष्य निर्माण गरेका छन्। त्यसैले राजा महेन्द्रको राष्ट्रियतामा सामन्तवादको मि श्रण प्रचुर मात्रामा रहेकोले त्यो पुख्र्यौली देशभक्तिसिवाय अरूथोक केही थिएन। तर पनि बीपीले जीवनपर्यन्त त्यसलाई बोक्ने जुन दुस्साहस गरे, त्यसबाट उहाँलाई असफलताबाहेक केही हात लागेन। जितेको बहुदललाई सत्ता र शक्तिको दुरुपयोग गरी हराइयो। यति हुँदाहुँदै राजासँग घाँटी जोडिएको उनको अस्वाभाविक ऐलानले रामराजाप्रसादलाई तात्कालै गठन गरिएको जनवादी मोर्चाको औचित्य सावित भयो। अन्ततोगत्वा बीपी असफल र रामराजाप्रसाद सिंह सफल राजनेताका रूपमा कूटनीतिक वृत्तमा स्थापित हुन पुग्छ। संघीय प्रजातान्त्रिक गणतन्त्र नेपाल यसको ज्वलन्त उदाहरण हो।

रामराजाको घतलाग्दो अडान

२०४६ सालको ऐतिहासिक जनआन्दोलनपछि बहुदलीय व्यवस्थाको पुनस्र्थापनपश्चात् इतिहासविद् डा. सुरेन्द्र केसीको एउटा थेगो के थियो भने नेपालमा सबैभन्दा सुरक्षित यदि कुनै कुरा छ भने त्यो राजसंस्था हो। हो पनि, नेपालबाट राजा र राजसंस्थालाई हटाउन सकिन्छ भन्ने नेपाली जनतामा रतिभर विश्वास थिएनन्। किनकि एमालेजस्तो कम्युनिस्ट पार्टीले पनि संवैधानिक राजतन्त्रलाई आत्मसात गरिसकेका थिए। यो तथ्यको भण्डाफोर त्यतिबेला भयो, जतिखेर पार्टीका तात्कालीन महासचिव माधव नेपालले राजा ज्ञानेन्द्रको पाउमा दाम चढाए। वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले त गणतन्त्रको सन्दर्भमा दिएको मन्तव्य अहिले सबैको थेगो बनेको छ।

 उनले माओवादीहरूले बयलगाडा चढेर अमेरिका पुग्न खोजिरहेको भन्दै झन् राजतन्त्रका पक्षमा वकालत गरेकाले डा. केसीको भनाइमा दम रहेको देखिन्छ। कतिसम्म भने जनयुद्धको उतराद्र्धमा माओवादी पनि संवैधानिक राजतन्त्रवरिपरि चक्कर काट्न थालेको तथ्य सार्वजनिक भइसकेको छ। कांग्रेसको त के कुरा (!) सानैदेखि लागेको बानीजस्तै थियो। पिलपिले कम्युनिस्ट पार्टीहरूको कुनै हैसियत नै थिएनन्। राप्रपा राजतन्त्रको सबैभन्दा ठूलो पृष्ठपोषक थिए। यस्तो अवस्थाका राजा, राजतन्त्र र राजसंस्थाको समूल नष्ट नगरी साँचो अर्थमा नेपालको राष्ट्रियता, अखण्डता र सार्वभौमिकता जगेर्ना गर्न सकिन्न भन्ने एकोहोरो रूपमा रटान रट्दै आएका रामराजाप्रसाद कस्तो प्राणी होला ? सहजै अनुमान लगाउन कठिन छ। र, त्यो पनि त्यस अवस्थामा जतिबेला एकातिर उनको टाउकोमा फाँसीको फन्दा छ भने अर्कातर्फ पुख्र्यौली धनसम्पत्ति पञ्चायतकालदेखि सरकारीकरण गर्दै आएका छन्।

 श्रीमती वर्षौंवर्षदेखि कोमामा छिन् भने पटनाजस्तो सहरमा बालबालिकाको निर्वाह मामुली कुरा थिएन। यति हुँदाहुँदै आफ्नो अडानबाट टसमस नहुनु विद्वतासँगै जातीय गुण पनि हुन सक्छ। ‘सर कटा सकते है लेकिन सर झुका सकते नही’ भन्ने उखान भारत वर्षका राजपुतहरूको सन्दर्भमा त्यत्तिकै प्रचलित भएका होइनन्। राजा महेन्द्रले प्रधानमन्त्री पद पनि रामराजाबाबुलाई यही हठी स्वभावका कारण दिन इच्छुक भएका थिए होला। तर आफ्नो मूल्य र मान्यतामा अडिग व्यक्तिका लागि व्यावहारिक सफलता वा असफलताको कुनै अर्थ रहँदैन। जतिबेला संघर्ष मानव जीवनको अन्तर्निहित निरर्थकताबाट हुन्छ त्यतिबेला सफलता र असफलताको भेद महत्वपूर्ण भइहाल्छ। रामराजाबाबुको जीवन दर्शनले भविष्यका सन्ततिहरूलाई सिकाएको पाठ यही हो।

सफल जीवन

बीपी कोइरालाले आफ्नो राजनीतिक जीवनको उत्तराद्र्धमा गरेको संघर्षले मूर्तरूप धारण गर्न सकेनन्। निराश भएर देहत्याग गरे। गजेन्द्रनारायण सिंहले पनि संघीय शासन व्यवस्थाको स्वाद चाख्न सकेनन्। र, सबैभन्दा ठूलो कुरा गणेशमान सिंहले २०४६ सालको ऐतिहासिक जनआन्दोलन सफल पार्न गरेको अभ्यास उनलाई सफल र सक्षम नेताका रूपमा स्थापित गरे। अर्थात् जुन काम बीपीले गर्न सकेका थिएनन्, त्यो काम गणेशमानले फत्ते पारे। तर यति हुँदाहुँदै पनि गणेशमानको समावेशीकरणको लालसा पूरा हुन सकेन। तर प्रवासमा रहेको कांग्रेसको असफलताबाट रामराजा बाबुमा अंकुरित गणतान्त्रिक नेपालको सोचले अन्ततोगत्वा मूर्तरूप धारण गरेरै छाड्यो।

त्यस दिनदेखि लोकतन्त्रले प्रजातन्त्रलाई विस्थापित गरेको छ। नेपालीहरू रैती र प्रजाबाट उक्लेका छन्। पूर्णरूपमा सार्वभौम संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको सार्वभौम नागरिक हुन पुगेका छन्। यसमा रामराजाको अठोट जसले माओवादीलाई रणनीतिक लक्ष्य प्राप्तिका लागि उत्प्रेरकको काम गर्‍यो। साथै माओवादीको संगठनात्मक शक्ति, कांग्रेसको लचकता र एमालेको बाध्यताले नौलो परिवेशको उत्पादन गरेको हो।

अन्त्यमा, एउटा कुरा के साँचो हो भने दुनियाँ परिवर्तनशील छ। पुरानो ढल्छ र नयाँको नवनिर्माण हुन्छ। राष्ट्रका हकमा पनि यो सूत्र लागू हुन्छ। विश्वमा कतिपय राष्ट्रले यसरी नै कोल्टे फेरेका हुन्। तर यस अर्थमा रामराजाप्रसादको विचार आफ्नै प्रकारको थियो। उनले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा सम्झौता गर्न सकिन्न भन्ने मान्यता राख्नु हुन्थ्यो। उनका विचारमा यो सम्झौताहीन कुरा हुन्, जसले मेचीदेखि महाकाली र हिमालदेखि तराई-मधेससम्मका विविध जातजाति, भाषाभाषी, लिंग, वर्ग, वर्ण र क्षेत्रका जनतालाई एक सूत्रमा बाँध्ने काम गर्छ। जब तराई-मधेसका सशस्त्र समूहका नेताहरू उनलाई भेट्न आउँथे त्यतिबेला उनले आफ्नो विद्वताबाट सबैलाई मन्त्रमुग्ध पार्थे एउटा जयकृष्ण गोइतबाहेक। सायद त्यसैले होला जयकृष्ण गोइतबाहेक अब कुनै पनि समूह तराई-मधेसमा छैनन् र त्यो पनि दिनप्रतिदिन खिइँदै गएका छन्। रामरिझन यादवले अन्नपूर्ण पोष्टमा लेखेको लेख हामीले साभार गरेका हौँ ।

प्रकाशित मिति ३१ भाद्र २०७७, बुधबार ०२:०२