सरकार आर्थिक संकटमा : कोरोना कहरमा खुकुलो नीति

भदौ ३१, काठमाडौँ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि ६ महिनादेखि गरिएका लकडाउन तथा निषेधाज्ञाले आर्थिक संकट निम्त्याउन थालेपछि सरकारले सबै क्षेत्रलाई खुकुलो पार्दै लगेको छ । झन्डै ६ महिनादेखि बन्द रहेको हवाई उड्डयन र लामो दूरीका सार्वजनिक यातायात सञ्चालन, होटल तथा रेस्टुरेन्टसहित पर्यटन क्षेत्र खुला गर्ने र आयोजनाका लागि विदेशबाट श्रमशक्ति ल्याउन पाउने निर्णय गरेको छ ।

विभिन्न समयमा सरकारले शैक्षिक र विलासिताबाहेकका क्षेत्र खुला गरिसकेको छ । अर्थतन्त्र चलायमान बनाउने क्षेत्रहरू खुला गरेको निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अब आर्थिक संकटसँग सरकारले सम्झौता नगर्ने बताए । ‘हामीले स्वास्थ्य र आर्थिक दुईवटा संकट सामना गरिरहेका छौं,’ उनले भने, ‘दुवै संकट असाध्यै महत्त्वपूर्ण र चुनौतीपूर्ण छन् । यी दुईवटाका बीचमा समुचित सन्तुलन भएन भने हामीलाई ठूलो जोखिम पैदा हुनेछ ।’ यसकारण कोभिड–१९ को संक्रमण बढिरहे पनि विस्तारै आर्थिक क्षेत्र खुला गर्दै जानुपरेको उनले सुनाए ।

खासगरी पछिल्लो समय गरिबीको चपेटामा परेका नागरिक, वित्तीय संकट सामना गरिरहेका व्यावसायिक क्षेत्र र राजस्व संकलन कम तर खर्चको चापमा परेको सरकारलाई लकडाउन तथा निषेधाज्ञा समस्याको विषय बनिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र केही सरकारी अधिकारीहरू निषेधाज्ञा तथा लकडाउनकै निरन्तरताको पक्षमा रहे पनि चौतर्फी दबाब बढ्दै गएपछि पछिल्लो समय सरकारले सबैजसो क्षेत्रलाई खुला गर्दै लगेको देखिन्छ । परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार सार्वजनिक सवारीसाधनको आवागमनमा रोक लगाउँदा मुलुकको एक भागबाट अर्को भागमा पुग्नुपर्ने यात्रु र व्यवसायीले विभिन्न कठिनाइ भोग्नुपरेकाले लामो दूरीको यातायात खुला गरिएको हो । साभार–कान्तिपुर दैनिकवाट

प्रकाशित मिति ३१ भाद्र २०७७, बुधबार ०२:५७