बलात्कारपछि मृत्युको सहारा

भदौ ३१,पर्वत । आफू सामूहिक बलात्कारमा परे पनि गाउँको ‘पञ्चेती’ले उजुरी दिन रोकेपछि पीडित १७ वर्षीया नन्की भनिने संगीता मण्डलले मंगलबार आत्महत्या गरेकी छन्। सप्तरीको डाकनेश्वरी नगरपालिका–७ ललितपुरकी संगीताको मृत्युलगत्तै चार आरोपित फरार भएका छन्। आरोपितमा ३० वर्षीय धर्म मण्डल, ३५ वर्षीय विष्णु मण्डल, १८ वर्षीय रञ्जित मण्डल र १९ वर्षीय बब्लु मण्डल छन्।

पीडितलाई प्रहरी कार्यालय जान रोक लगाएको आरोपमा चार पञ्चलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय जयकान्त मण्डल, वासुदेव मण्डल, सत्यनारायण मण्डल रहेको सप्तरी जिल्ला प्रहरीले जनाएको छ। उनीहरूले पीडित संगीता र उनकी आमालाई प्रहरी कार्यालय जान रोक लगाउँदै आरोपितहरूबाट ५५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने ‘फैसला’ सुनाएका थिए। उक्त निर्णयप्रति असन्तुष्ट पीडितले पीडा सहन नसकी आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

किशोरीकी आमाका अनुसार घटना सोमबार बिहानको हो। किशोरी हिलो लागेको रगतपच्छे अवस्थामा रुँदै घर आइन्। हातका चुरा फुटेका थिए। कपाल पूरै फुकेको थियो। धेरै बेरसम्म एकनास रोइरहिन्। चार जनाबाट आफू बलात्कृत भएको सुनाएर केहीबेर बेहोस भएको पीडितकी आमाले बताइन्।

चार जनाले पछाडिबाट झ्याप्पझुप्प समातेर खेतमै लडाए। वरपर अरू कोही थिएनन्। लुगा फुकाल्न थालेपछि जोरजोरले चिच्याउन खोजे पनि उनको केही सीप लागेन। उनको मुख बन्द गरिएको थियो। आवाज नै बाहिर गएन। बलात्कारीहरू जबरजस्ती गरेर फर्किए। पीडित किशोरी एकछिन बेहोस भइन्। उठ्नै सकिनन्।

जसोतसो घर फर्किएकी उनले आफ्नो पीडामा गाउँलेको सहयोग पाउने अपेक्षा गरेकी थिइन्। तर, त्यसो भएन। आमाले घटनाबारे जानकारी दिँदै न्यायको भिख माग्दै आफ्नै गाउँ र समुदायका मुख्य व्यक्तिहरूलाई बोलाइन्। भेला भएका १०–१२ जना पञ्चले आरोपितहरूबाट क्षतिपूर्ति भराई दिनुपर्ने र पीडितले कतै उजुरी गर्न नपाउने ‘फैसला’ सुनायो। आमाछोरी दुवैले त्यसको विरोध गरे।

पञ्चले एक जनाको इज्जत ठूलो कि सिंगो गाउँको भन्दै धम्क्याए। प्रहरीमा उजुरी गरे साक्षी प्रमाण जुटाउन नसक्ने भएकाले चुपचाप रहन उनीहरूले चेतावनी दिएको छिमेकी बताउँछन्। बलात्कारको उजुरी गरे किशोरीकै बदनाम हुने, त्यसले बिहे पनि नहुने, आरोपितबाट पाउने क्षतिपूर्ति पनि छुट्ने भन्दै घटना बिर्सिन गाउँका ‘जान्ने–बुझ्ने’ले भनेपछि किशोरी तनावमा परेको छिमेकी पाचीलाल मण्डलले बताए।

‘जबरजस्ती गरेर दबाउन खोज्नेले भोलि अरूलाई पनि यस्तै नगर्लान् र रु, पीडितकी आमाले भनिन्, ‘यस्तो अवस्थामा पुर्‍याउनेहरूलाई कडा दण्ड सजाय होस् भन्ने चाहना छ। तर, म एक्लै के गरुँ रु के गर्नेुपर्ने हो रु त्यो पनि थाहा छैन।’ गाउँलेबाट त्यस्तो होला भन्ने कल्पनासमेत नगरेको उनले बताइन्। किशोरीकी बुवा उमा मण्डलको चार वर्षअघि मृत्यु भएको थियो। दिदीको विवाह भइसकेको छ। त्यसैले उनी घर र खेतीको काममा एक वर्ष जेठा दाजुसँगै खटिन्। सोमबार बिहान पनि धानखेतमा पानी धेरै लागेको भएर त्यसलाई आली काटेर बगाउन उनी खेतमै गएकी थिइन्। आफ्नो खेत नभएकाले अरूको जग्गा किशोरीको परिवारले बटियामा लिएर उब्जनी बाँडफाँट गर्ने गरेको थियो।

जिल्ला प्रहरीका इन्स्पेक्टर सन्तोष खड्काले घटनास्थलमा पीडितले जोगिन संघर्ष गर्दा धान मडारिएको, चुराहरू फुटेको पाइएको बताए। पीडित किशोरीको शव मंगलबार साँझ राजविराज ल्याइएको छ। बुधबार पोस्टमार्टम गर्न धरान लगिने इन्स्पेक्टर खड्काले बताए। जिल्ला प्रहरीबाट खड्का नेतृत्वको टोली अनुसन्धान गर्न घटनास्थल पुगेको थियो। अन्य तीन टोली पनि घटनास्थलमा खटिएका थिए।

गाउँमा आफ्नै कानुन

सप्तरीका गाउँ–गाउँमा देशको कानुन होइन, आफ्नै ‘कानुन’ प्रयोग हुने गरेको छ। कानुनभन्दा व्यवहार ठूलो भन्ने मान्यताले गाउँमा चोरी, लागूऔषधका घटना मात्र होइन, कथित बोक्साबोक्सी, बालविवाह, बहुविवाह, बलात्कारजस्ता संवेदनशील घटनामा पञ्चेती बसेर निर्णय हुने गरेको छ।

तिलाठी कोइलाडी गाउँपालिकामा गर्भवती १५ वर्षीया बालिकाको विवाह एक पञ्चेतीले १८ वर्षीय किशोरसँग गराइदिएको घटना जेठ ३२ गते सार्वजनिक भएको थियो। ती बालिकाले विवाह गराइदिएका किशोरको नभई अर्कै युवकको गर्भ रहेको बताएकी थिइन्। उक्त घटनामा तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका २५ वर्षीय लालबहादुर मुखिया कारबाहीमा परे पनि पक्राउ परेका पञ्चलाई त्यत्तिकै छाडियो।

राजगढ गाउँपालिका–४ बेल्ही टोलका १५ देखि १८ वर्षीय पाँच किशोरलाई चोरी आरोपमा जेठ २९ गते गाउँलेको पञ्चेती बस्यो। किशोरहरूलाई ११÷११ पटक बाँसको सिर्कनाले कुटपिट गर्नुका साथै २५ सय जरिवाना तिर्न लगाइएको थियो।

गाउँघरमा मात्र नभई प्रहरी कार्यालयमा पनि पञ्चेती बस्ने गरेको छ। कानुनले विभेद नगरे पनि सामाजिकताका नाममा हुने पञ्चेतीले महिला, बालिका, दलित असुरक्षित महसुस गर्छन्। कथित बोक्सीको उजुरीमा जरिवाना गर्न लगाउने, बलात्कार गर्नेसँग विवाह गराइदिने, बाल र बहुविवाहलाई सहजै स्विकार्ने चलन गाउँघरमा कायमै छ। यही आधारमा पञ्चेतीले निर्णय गर्दै आएको छ। कानुनमा गए आपसी द्वन्द्व बढ्ने र घर फुटने भयले पञ्चेतीको फैसला सर्वोपरी मान्ने गरिएको सामाजिक कार्यकर्ता गीता देबको भनाइ छ।

शिक्षिका मञ्जु श्रेष्ठले हानिकारक परम्परालाई ‘मौलिक’ ठानेर नयाँ पुस्ताले सहँदा महिलाहरू असुरक्षित रहेको बताइन्। ‘घरमा बसिरहेको बेला होस् वा खेतबारीमा काममा जाँदा। बसमा जाँदा होस वा मन्दिर, हाटबजार, कार्यालयतिर जाँदा होस जहाँ पनि हिंसा हुन सक्छ’, उनले भनिन्, ‘धेरैजसो घटना गाउँघरमै चुपचाप मिलाइन्छ। देशको नियमकानुन पनि लाग्दैन।’

गाउँघरमा कुरा नमिलेपछि मात्र प्रहरीमा उजुरी गर्ने प्रवृत्तिले घटना अनुसन्धान गर्न र आरोपितहरू पक्राउ गर्न समस्या हुने गरेको प्रहरी अधिकारीको भनाइ छ। किशोरीको मृत्युपछि मात्र जानकारी पाएको पछिल्लो घटनामा संलग्न अरोपितलाई कानुनबमोजिम कारबाही हुने डीएसपी तिलक भारतीले बताए।

मुलुकी अपराध संहिता २०७४ मा पीडितको उमेर हेरेर सजाय तोकिएको छ। १६ वर्ष वा त्यसभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी भए १० देखि १२ वर्षसम्म कैदको व्यवस्था छ। सामूहिक रूपमा बलात्कार गरे थप पाँच वर्षसम्म कैद सजाय हुने उल्लेख छ।साभार–अन्नपूर्ण पोष्टवाट

प्रकाशित मिति ३१ भाद्र २०७७, बुधबार ०३:१६