म्याग्दीमा लकडाउन उल्लंघन गर्नेलाई कारबाही

असोज १, म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्यागदीले लकडाउन उल्लंघन गरी भलिबल प्रतियोगिता र मेला आयोजना गर्ने क्लबका पदाधिकारीलाई कार्यालयले कारबाही गरेको जनाएको छ । धौलागिरि गाउँपालिका–७ ताकमस्थित सफल टोल सुधार क्लबका अध्यक्ष सुमन केसी, सचिव किरण गुरुङ र कोषाध्यक्ष दिनेश केसीलाई संक्रामण ऐनबमोजिम कारबाही गरेको हो । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको आदेशले मंगलबार उनीहरुलाई तीन दिन कैद र १ सय रुपैयाँका दरले जरिवाना गरिएको हो ।

क्लबले भदौ २६ देखि २८ सम्म ताकम माविको प्रांगणमा भलिबल प्रतियोगिता र मेला आयोजना गरेको थियो । कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा पालना गर्नुपर्ने सुरक्षा मापदण्डसमेत बेवास्ता गरी मेला आयोजना गरेको समाचार सार्वजनिक भएपछि प्रहरीले आयोजकलाई सोमबार पक्राउ गरेको थियो । पक्राउ परेका तीन जनाले कैद सजायको दैनिक तीन सय रुपैयाँका दरले ९ सय र जनही १ सय जरिवानासहित एकमुष्ट तीन हजार बुझाएर मंगलबार नै रिहा भएको प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति १ आश्विन २०७७, बिहीबार ०४:०६