सरकार नै क्रिश्चियन धर्म प्रचारमा लाग्योः पशुपतिशमशेर राणा

काठमाडौ, २० मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले एसिया प्यासिफिक सम्मेलनको नाममा सरकारले नै क्रिश्चियन धर्मको प्रचार गरेको आरोप लगाउनुभएको छ ।

बिहीबार झापाको बिर्तामोडमा आयोजित राप्रपा प्रजातान्त्रिकको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा उहाँले सरकारले १० महिनासम्म जनताका कुनैपनि आवश्यकता पुरा नगरेकाले अब आफ्नो पार्टी टुलुटुलु हेरेर नबस्ने भन्दै चाँडै सरकारका विरुद्धमा सडकमा संघर्ष गर्ने बताउनुभयो । उहाँले सरकार आफ्नै खर्चमा अन्य धर्मको प्रचारमा लागेकाले यसले देशलाई दुर्घटनाको दिशामा अघि बढाएको जिकिर गर्नुभयो ।

अध्यक्ष राणाले दुइतिहाई मत रहेको र २०४७ साल भन्दा पछाडि सबै भन्दा शक्तिशाली सरकारले अहिलेसम्म जनताका पक्षमा कुनै ठोस काम गर्न नसकेको बताउनुभयो । कार्यक्रममा पूर्व मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका महामन्त्री सुनिलबहादुर थापाले अब पार्टी एकीकरण भन्दा पनि राप्रपा प्रजातान्त्रिक बनाउन तर्फ ध्यान दिन सबै नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । साभार न्युज२४नेपाल

प्रकाशित मिति २० मंसिर २०७५, बिहीबार १५:२९