भारत लैजाँदै गर्दा किशोरीको उद्धार, तीन जना पक्राउ

असोज ७, काठमाडौँ । किशोरीलाई भारत लैजान लागेको आशंकामा विराटनगरबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। विराटनगर नाका हुँदै एक किशोरीलाई भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर–५ का २८ वर्षीय सुमितकुमार मण्डल, तिलाठीकैलाडी–१ का २० वर्षीय प्रदीपकुमार मण्डल र मोरङको लेटाङ नगरपालिका–३ घर भई सुनसरीको रामधुनी–५ झुम्कामा बस्दै आएका २२ वर्षीया मनिका ढकाल रहेको प्रहरीले जनाएको छ। घटनाको प्रकृति हेर्दा किशोरीलाई बिक्री गर्न वा बली दिन भारत लैजान खोजिएको हुन सक्ने प्रहरीको आशंका छ।

सुनसरीको रामधुनी–५ की १७ वर्षीया किशोरीलाई नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१७ इस्लामपुरको बाटो हुँदै भारत लैजान खोजिएको थियो। सोमबार साँझ करिब ७ बजे उनलाई ‘साना हातहरू’ नामक संस्थाको सहयोगमा प्रहरीले सीमा क्षेत्रबाट उद्धार गरेको हो।

मनिकाले किशोरीको परिवारलाई पैसाको प्रलोभनमा पारेकी थिइन्। पूजामा बसेपछि मोबाइल, कपडा र पैसा पनि पाइने प्रलोभन देखाएकी थिइन्।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काकाअनुसार प्रारम्भिक अनुसन्धानबाट घटनाका मुख्य योजनाकार सुमित र प्रदिप उनका सहयोगी रहेको खुलेको छ। सुमितले मनिकालाई प्रयोग गर्दै प्रदिपको पनि सहयोग लिएर किशोरीलाई भारत पु(याउन खोजेको एसपी खड्काले बताए। ‘किशोरीलाई भारत लैजान खोज्नेहरूको नियत शंकास्पद देखिएकाले विभिन्न कोणबाट अनुसन्धान थालिएको छ,’ उनले भने। पैसाको प्रलोभन देखाएर विराटनगर ल्याइएकी किशोरीलाई भारत पु(याउन खोजेको पाइएपछि घटनालाई गम्भीर रूपमा लिइएको एसपी खड्काले बताए। साभार–नागरिक दैनिकवाट

प्रकाशित मिति ७ आश्विन २०७७, बुधबार ०३:०२