मृत्यु भएकी महिलाको पाठेघर प्रत्यारोपणबाट स्वस्थ बालिकाको जन्म

काठमाडौं,मंसिर २१। मानव अंगप्रत्यारोपणका लागि प्रविधिको विकाससँगै धेरैले नयाँ जीवन पाएका छन् । यसै क्रममा पछिल्लो समय पाठेघर प्रत्यारोपण गर्दै कतिले मातृसुख समेत प्राप्त गर्न थालेका छन् । तर अचम्म, ब्राजिलमा मृत्यु भइसकेकी महिलाको पाठेघर प्रत्यारोपण गरी एउटी स्वस्थ बालिकाको जन्म भएको छ ।

ब्राजिलको साओ पाउलोमा सन् २०१६ मा पाठेघर प्रत्यारोपण गरी १० घण्टा लामो शल्यक्रियाबाट गर्भाधानसम्बन्धी उपचार गरिएको थियो । पाठेघर बिनै जन्मिएकी ३२ वर्षीया महिला पाठेघर प्रत्यारोपणपछि आमा बन्न सफल भएकी थिइन् । जीवित महिलाले नै दान गरेका पाठेघर प्रयोग गर्दै ३९ वटा पाठेघर प्रत्यारोपण गरिसकिएको छ । त्यसमा छोरीलाई आफ्नो पाठेघर दिने आमाहरू पनि रहेका छन् । यसरी ११ जना शिशुको जन्म भइसकेको छ । तर मृत्यु भइसकेकाको पाठेघर प्रत्यारोपण गर्ने यसअघिका १० वटा प्रयास असफल भएका थिए ।

गत वर्ष भने करिव ४० वर्षमा मृत्यु भएकी महिलाको पाठेघर प्रत्यारोपण गरिएकी महिला जो योनी र पाठेघर राम्रोसँग विकसित नहुने सिन्ड्रोमबाट ग्रसित थिइन् । तर डिम्बाशयमा कुनै समस्या नदेखिएका कारण चिकित्सकहरूले उनको डिम्ब निकाल्न सफल भएका थिए र उनी आमा बनिन् ।

र, ती महिलाले सन् २०१७ को १५ डिसेम्बरमा सिजेरियन शल्यक्रियापछि शिशुलाई जन्म दिएकी थिइन् । यदि यो प्रविधि पूर्ण रुपमा सफल भए बाँझोपन समाधानको कोसेढुङ्गा साबित हुनेछन् । न्युज२४नेपालबाट साभार

प्रकाशित मिति २१ मंसिर २०७५, शुक्रबार ०३:१२