पहिलोपल्ट महिला क्रिकेटर वर्गीकरणमा

असोज ७, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले इतिहासमै पहिलोपल्ट महिला राष्ट्रिय क्रिकेट खेलाडीलाई वर्गीकरणमा राखेको छ । क्यानको चितवनमा बसेको बोर्ड बैठकले राष्ट्रिय खेलाडीमा पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडीलाई वर्गीकरण गर्दै सेन्ट्रल कन्ट्रयाक्टमा राखेको हो ।

पुरुष राष्ट्रिय क्रिकेटर यसअघि सेन्ट्रल कन्ट्रयाक्टमा रहेर मासिक तलब बुझ्दै आए पनि महिला खेलाडी वर्गीकरणमा परेको थिएन ।
क्यानले गरेको वर्गीकरणमा राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्री बेलबासेसहित नेरी थापा, इन्दु बर्मा, सीता रानामगर र करुणा भण्डारी ग्रेड ‘ए’ मा परेका छन् । ज्योति पाण्डे, अप्सरी बेगम, रोमा थापा, बिन्दु रावल, कविता जोशी, रितु कनोजिया, काजल श्रेष्ठ र सरिता मगर ग्रेड ‘बी’ मा तथा कविता कुँवर, डोली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द र शोभा आले ग्रेड ‘सी’ मा छन् ।

ग्रेड ‘ए’ मा परेकाले १५ हजार, ग्रेड ‘बी’ मा परेकाले १२ हजार र ग्रेड ‘सी’ मा परेकाले १० हजार मासिक तलब पाउने बोर्ड बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति ७ आश्विन २०७७, बुधबार ०५:२९