कालीगण्डकी करिडोरबाट पहिरो झर्न थालेपछि फलेवासमा समस्या

असोज ८, पर्वत । भारतको सुनौली हुँदै चीनको सिमाना कोरोना नाकासम्म बिस्तार भैरहेको कालीगण्डकी करिडोर जथाभावी खनिँदा पर्वतको देबिस्थानमा मानवीय वस्तीलाई असर पुगेको छ । गतवर्ष बस्तीमाथीबाट खनिएको सडकमा यो वर्षा लगातार पहिरो झर्न थालेको छ । सडकबाट निरन्तर खस्ने पहिरोले जोखिम बढाएको स्थानीयले बताएका छन् । झरी पर्दाको राती घर छोडेर हिँड्नपर्ने स्थिती रहेको स्थानीयले गुनासो गर्नुभएको छ ।

ट्रयाक खोल्न खनिएको करिडोरमा खानीगाउँदेखि बगेर आउने ठूलो भेल मिसिने गरेको छ । करिडोरको ट्रयाक खोलेर पानी कट्ने नाली समेत बनाईएको छैन । पानीको कतै निकास नभएपछि सबै भेल बस्तीमा पस्ने गरेको हो । यो सडक वस्ती छलेर बिस्तार गर्न स्थानीयले माग गरेका थिए । तर बस्तीमाथी बाटै विस्तार भएपछि अहिले समस्या भएको देबिस्थानका बासिन्दाले गुनासो गर्दै आएका छन् । कालीगण्डकी करिडोर भन्दा ३० मिटर तल दोबिल्ला फलेवास सडक छ । मानवीय वस्ती जोखिममा पारेर सडक विस्तार भएकोमा स्थानीयको आक्रोश रहँदै आएको थियो । सडककै कारण सिँचाई कुलो मासिएको छ ।

झरी पर्दाको दिनमा आँगनमा लेदो थुप्रिने गरेको छ । यो वर्खामा धेरै पानी परेको हुनाले पहिरोको जोखिम बढेको नेपाली काँग्रेस खानीगाउँका सभापती हिरामणी सापकोटाले बताउनुभयो । स्थानीयले बस्ती संरक्षणका लागि लोकमार्ग आयोजना कार्यालय र फलेवास नगरपालिकालाई अनुरोध गरेका छन् । नेपाली काँग्रेस फलेवास नगर समितिले विकासका काम गर्दा बस्तीमा विनास भएकोमा ध्यानाकर्षण गराएको छ । सम्बन्धित निकायलाई छिटो समस्याको समाधान गर्न काँग्रेसले अनुरोध गरेको छ ।

नेपाली काँग्रेसका महासमिति सदस्य एवं फलेवास नगरपालिकाका मेयर पदका प्रत्यासी गंगाधर तिवारीले लोकमार्ग आयोजना कार्यालयले वातावरणीय प्रभाव मुल्यांकनको आधारमा मात्रै काम गर्नुपर्नेमा मनपरी गरेको भन्दै आपत्ती जनाउनुभएको छ । लोकमार्गका कारण बस्तीमा परेको समस्याका बारेमा स्थलगत अनुगमन गर्नुभएका तिवारीले पहिरोको चपेटामा परेका नागरिकहरुको समस्या समाधान गर्न नगरपालिकालाई पनि आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति ८ आश्विन २०७७, बिहीबार ०३:३७