नेकपाका कार्यकर्ता धमाधम काँग्रेसमा प्रवेश, नेकपा जनताको पक्षमा काम गर्ने पार्टी होइन– नेता जोशी

असोज ११, पर्वत । पर्वतमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरेर काँग्रेसमा प्रवेश गर्नेहरुको लहर चलेको छ । जिल्लामा सबैभन्दा बढि कम्युनिष्ट नेता सत्ता संयन्त्रमा रहेको बेला पर्वतमा भने नेकपाका कार्यकर्ता धमाधम काँग्रेसमा प्रवेश गरेका छन् ।
यसैविच फलेवास नगरपालिका–४ मुडिकुवा र ६ देविस्थानका नेकपाका कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । लामो समयदेखी नेकपाको राजनितिमा सक्रिय गोपाल नेपाली र दिपेन्द्र नेपालीको नेतृत्वमा युवाहरु काँग्रेसमा प्रवेश गरेका हुन् ।

तरुण दल फलेवास नगरपालिकाले शनिवार देविस्थानमा आयोजना गरेको राहात वितरण कार्यक्रममा उनीहरु प्रवेश गरेको नेपाल तरुण दल फलेवास नगर कार्य समितिका सभापति दिनेश लामिछानेले जानकारी दिनुभयो ।त्यस्तै यता कुश्मा नगरपालिका–१ पाङका पाँच जना युवा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । स्थानीय तह, प्रदेश र केन्द्रमा समेत कम्युनिष्टको दुई तिहाईको सरकार हुँदा समेत नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन नसकेको भन्दै उनीहरु नेपाली काँग्रेसमा प्रवेश गरेको पार्टी सचिव अशोक उच्चै ठकुरीले जानकारी दिनुभयो । पार्टी कार्यालयमा आएर युवाहरुलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व साँसद अर्जुनप्रसाद जोशी, नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुषाल लगायतका नेताहरुले खादा र अविर लगाएत स्वागत गर्नुभएको थियो ।

नवप्रवेशीहरुलाई सम्बोधन गदै नेपाली काँग्रेसका केन्द्रिय सदस्य जोशीले काँग्रेसको विचार र सिद्धान्तलाई मन पराएर प्रवेश गरेकोमा युवाहरुलाई धन्यवाद दिनुभयो । उहाँले कम्युनिस्ट सरकार जनताको इच्छा विपरीत चलिरहेको र कम्युनिस्टबाट देशको भविष्य अन्धकारमयको बाटोमा जाने देखेर देशभर काँग्रेसमा प्रवेश गर्नेहरुको लहर चलेको बताउनु भयो । नेता जोशीले निर्वाचनपूर्व देखाएका भ्रामक सपना र गरेका उधारा बाचाको विरूद्धमा कार्यकर्तामा वितृष्णा जागेको वताउँदै कम्युनिष्टमा भोट हाल्ने जनतालाई अहिले पछुतो भएको बताउनु भयो ।

दुई तिहाइको सर्वशक्तिशाली नेकपा सरकारले जनतालाई लोकतन्त्रको अनुभूति दिनेभन्दा पनि जनताको प्रति निर्मम भएर कोरोनाको महामारीमा पनि मास्क र सेनिटाईजरमा कमिशन खान उद्दत रहेको दाबी गर्नुभयो । नेता जोशीले काँग्रेस मात्र जनताको सच्चा पार्टी भएको जिकिर गदै कोरोना नियन्त्रण देखी बाढि पहिरो पीडितको घरघरमा पुगेर जनतालाई राहात दिन उद्धत रहेको जिकिर गर्नुभयो । ‘जहाँ दुःख अप्ठ्यारो परेको छ, त्यहाँ नेपाली काँग्रेस सत्ता बाहिर भएरपनि सहयोग गरेको छ, त्यसैले नेकपा जनताको पक्षमा काम गर्ने पार्टी होइन,’नेता जोशीले भन्नुभयो । उहाँले नेकपा परित्याग गरि नेपाली काँग्रेस प्रवेश गर्नुभएका सबै व्यक्तिलाई स–सम्मान पार्टीमा जिम्मेवारी दिने जानकारी दिनुभयो । जुन प्रतिबद्धता र संकल्प बोकेर नेकपा परित्याग गरि तपाईंहरु नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ, तपाईंको क्षमता र क्रियाशीलताका आधारमा पार्टीको जिम्मेवारी पाउनुहुनेछ ।’– जोशीले भन्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका सभापति खिमप्रसाद भुषाल, कुश्मा नगरपालिका–८ चुवाका वडा अध्यक्ष राजकुमार क्षेत्री, नेपाल टे«ड युनियन काँग्रेस पर्वतका अध्यक्ष सुरेन्द्र केसी, नेपाल निजामति कर्मचारी युनियन संघ पर्वतका निर्वतमान अध्यक्ष धुव्र सुवेदी, नेपाल विद्यार्थी संघका नेता शिशिर शर्मा पौडेल, बिविक गिरी लगायतका नेताहरुको उपस्थिती रहेको थियो । कुश्मा भएको कार्यक्रमको संचालन पार्टी सचिव अशोक उच्चै ठकुरीले गर्नुभएको थियो ।
सत्तारुढ दल नेकपाले जनतालाई दिएको आश्वासन पूरा नगरेको, नेकपाको सरकार भ्रष्टाचार तथा आर्थिक अनियमिततामा चुर्लुम्म डुबेको, नेकपाभित्र बस्दा भविष्य नभएको नवप्रवेशीहरु बताउँछन्

प्रकाशित मिति ११ आश्विन २०७७, आईतवार १२:२७